१९ जेठ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको १० दिने चीन भ्रमणले नेपाल चीनबिचको सम्बन्धलाई पुनर्ताजगी गराएको भ्रमण टोलीले जनाएको छ । भण्डारीको टोलीमा सहभागी रहेका सरकारका उद्योग वाणिज्य मन्त्री तथा एमाले नेता दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमण फलदायी र सफल भएको बताए ।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई चीनले न्यानो आतिथ्यतासहित स्वागत गरेको बताए । साथै उनले चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग उच्चस्तरको भेटवार्ता भएको पनि बताए ।
‘चीनमा रहँदा त्यहाँका उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, गान्सु प्रदेशका मुख्यमन्त्रीसहितसँग भेटवार्ता र छलफलहरू भयो, मन्त्री भण्डारीले भने, ‘समग्रमा नेपाल चीन सम्बन्ध र सहमतिको कार्यान्वयनमा पुनर्ताजगी भयो ।’
त्यसक्रममा नेपाल चीनको पुरानो सम्बन्ध, साझा मान्यता र सम्झौतालाई पुनर्ताजगी गर्ने सद्भाव भ्रमणका रुपमा रहेको मन्त्री भण्डारीको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीको टोली १० दिनअघि चीन भ्रमणमा गएको थियो । टोलीमा एमाले नेताहरू सहभागी थिए ।