काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीविरुद्ध प्रतिवादका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे निर्देशन दिएका हुन् ।
राजावादी छाडा बनेर आफूहरूमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै उनीहरूले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई उनले निर्देशन दिए । प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफारिरहेको आरोप पनि लगाए ।
उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको भन्ने प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सबै जनताको भएको जिकिर गरे । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कु-प्रचार गरिरहेको उनले बताए ।
त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनविरुद्ध संघर्षसहित गणतन्त्रको विकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहोर्याउने जिम्मेवारी र चुनौती माओवादीको काँधमा रहेको उल्लेख गरे ।
उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारबाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए ।
प्रचण्डले आफूहरूको अभियान फेरि सुरु हुने बताउँदै जनतासँग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर पनि गरेका छन्।