महाभारत महाकाव्यमा संसारमा विरलै पाइने आश्चर्यजनक घोडाको वर्णन छ । त्यो घोडा हो, श्यामकर्ण घोडा अर्थात् शरीर स्फटिकझैं निर्मल सेतो तर त्यसका दुईवटा कान भने काला रङ भएको । यो प्रकृतिको घोडा यज्ञहरूको पनि यज्ञ वा महायज्ञ अर्थात् अश्वमेध यज्ञका बेलामा नभइ नहुने भनी महाभारत कथामा उल्लेख भएको पाइन्छ ।
यस्तो महायज्ञ जो कोही राजा वा महाराजाले पनि गर्न सक्दैनथे । किनकि श्यामकर्ण घोडाको खोजी र प्राप्ति असंभवजस्तै थियो । घोडा पाइएर मात्र पनि हुँदैनथ्यो । त्यसको सारा विधि विधान र शक्ति पनि उत्तिकै आवश्यक थियो । कोही प्रतापि महाराजाले मात्र यसो गर्न सक्थे । ती महाराजालाई ‘चक्रवर्ती’ महाराजा भनेर पुकारिने गरिन्थ्यो ।
अश्वमेध यज्ञमा यज्ञका सबै विधि पूरा गरिसकेपछि यज्ञको सफल समाप्तिसँगै अन्तिममा श्यामकर्ण घोडाको पुजाअर्चना गरिन्थ्यो । यो घोडा आफैमा बेजोड तथा अद्वितीय हुने गर्दथ्यो । पुजाआजापछि यो घोडा सीमा विहीन यात्राका लागि छाडिन्थ्यो । यसको रक्षाका लागि केवल थोरै घोडचढी सेना साथमा पठाइन्थे ।
यो जुनसुकै राष्ट्रको सीमाभित्र सहजै प्रवेश गर्न सक्थ्यो । र, घोडा जुन देशको सीमाभित्र पस्थ्यो, त्यस देशका राजाले घोडा छोडिदिने चक्रवर्ती राजालाई आफ्नो राज्यको पनि महाराज स्वीकार गर्नु पर्दथ्यो । होइन भने श्यामकर्ण घोडा समातेर चक्रवर्ती राजालाई चुनौती दिनु पर्दथ्यो र लडाइँ गर्न तयार हुनु पर्दथ्यो ।
अहिलेको विज्ञान प्रविधिको युगमा ‘मिसाइलजडित युद्धक विमान’ श्यामकर्ण घोडाका रूपमा विकसित भइआएका छन् । लडाइँ अहिले जमिनमा होइन र पानीमा पनि होइन, बरू आकाशको हावामा लडिने र त्यहिँ नै छिनोफानो हुने अवस्था सिर्जना हुन गएको छ । अति महाशक्ति र महाशक्ति राष्ट्रहरू आफ्नो देशमा छन्, तर तिनले निर्माण गरेका मिसाइलजडित युद्धक विमान क्षेत्रीय वा दुई देशीय युद्धमा प्रयोग भइरहेका छन् ।
हाल इजरायलले जारी राखेको यहुदी–हमास युद्ध, रूस–युक्रेन युद्ध वा भारत–पाकिस्तान युद्ध जुन भए पनि त्यहाँ अति महाशक्ति राष्ट्रका श्यामकर्ण घोडारूपी मिसाइल जडित युद्धक विमान नै प्रयोगमा आइरहेका छन् । रूस–युक्रेन युद्धमा युक्रेनको सहयोगका लागि भन्दै अमेरिका, बेलायत, फ्रान्स, जर्मनीसहित नेटो राष्ट्रका नयाँ नयाँ हतियार प्रयोग भइरहेका छन् । युक्रेन अहिले ती हतियारको प्रयोगस्थल भइरहेको छ ।
रूसले उत्तर कोरियासहित आफ्ना नयाँ अस्त्र प्रयोगमा ल्याइरहेको छ । रूस–युक्रेन युद्धमा शयामकर्ण घोडारूपी युद्धक विमान र अस्त्रहरू प्रयोग भइरहेका छन् । जीत र हार कसको भन्नु भन्दा पनि कुन देशको हतियारले अर्को कुन देशको हतियार नष्ट गरेर खसालिदियो भन्नेमा विश्वको चासो बढेर गएको छ ।
यसरी हेर्दा युद्धमा शक्ति राष्ट्र प्रत्यक्ष संलग्न भएका देखिदैनन् । तर आआफ्ना अस्त्रशस्त्र मार्फत् युद्ध भने लडिरहेका छन् । यसको अर्थ हो, शक्ति राष्ट्रहरूले युद्धक विमानरूपी श्यामकर्ण घोडा भने अरूको देशमा सीमाविहीन तरिकाले बेलगाम छाडिरहेका छन् । यस अर्थमा जीतको गणना जसको अस्त्रले अरूको अस्त्रलाई नष्ट गर्छ, उसैको पक्षमा हुने गरिरहेको छ ।
उदाहरणका लागि रूस–युक्रेन युद्धमा हालसम्म नेटो राष्ट्रका भन्दा रूसका अस्त्र बढी प्रभावकारी देखा परिरहेका छन् । नेटो राष्ट्रका लामो दुरीका अस्त्र पनि रूसको सामने प्रभावकारी हुन सकिरहेका छैनन् । प्यालेष्टिनी इलाकामा हमास निमिट्यान्न पार्ने इजरायलको अभियानमा अमेरिकी अस्त्र बढी प्रभावकारी हुँदै आएका छन् ।
अप्रिल २२ मा घटेको पहलगाम घटनापछि भारतले पाकिस्तानमाथि गरेको सर्जिकल मिलिटरी अप्रेसन र पाकिस्तानको प्रतिरोधमा भारत–पाकबिच भएको हवाइ युद्धमा भारतले फान्समा निर्मित राफेल नामक युद्धक विमान प्रयोग गरेको थियो । उता पाकिस्तानले चीनमा निर्मित जे–टेन–सी प्रयोगमा ल्याएको थियो । यी दुई देशका बिचमा सर्जिकल अपरेशन र रिटालियसनका क्रममा हवाइ आक्रमणमा प्रयोग भएका फ्रान्सेली र चिनियाँ युद्धक विमानमा चिनियाँ युद्धक विमान जे–टेन–सीले श्रेष्ठता हासिल गर्यो र फ्रान्सेली युद्धक विमान राफेल खसालिदियो ।
जब कि भारत–पाकिस्तान युद्धमा फ्रान्स र चीन दुबै सहभागी भएका छैनन् । तर ती देशमा निर्मित युद्धक विमान भने प्रयोगमा आएका छन् । भारत–पाक हवाइ हमलामा न त भारतले जितेको छ, न त पाकिस्तानले नै । तर यो हवाइ हमलामा चीन र फ्रान्सको अप्रत्यक्ष घमासान भएको छ । र, चीनको जीत हुन गएको छ । परिणामतः विश्व हतियार बजारमा फ्रान्सेली हतियारको माग घट्न गएको छ भने चिनियाँ हतियारको माग ह्वात्तै बढेर गएको छ ।
अहिले युद्धक विमानरूपी श्यामकर्ण घोडा कसले कसको भूमिमाथि छाडिदिने र आफू विजय भएको श्रेय लिने भन्ने कुरामा निकै होड चलेको छ । पश्चिमा देश वा नेटो राष्ट्रहरू विश्व युद्ध एशियामा लड्न चाहिरहेका छन् । जब कि रूस, चीन लगायतका महाशक्ति राष्ट्र युरोपतिर यसको निसाना सार्न उद्धत देखिएका छन् । विनाशकारी अस्त्र पड्कने र पड्काउने प्रक्रियामा आआफ्ना भूमि जोगाउन यी सबै लागि परिरहेका छन् । तर पनि अब हुन सक्ने विश्वयुद्धको अपरिहार्यताले पनि यिनीहरूलाई मिच्दै र थिच्दै लगेको छ । कुन भूमि रणभूमि बनाइन्छ वा निशाना बन्न पुग्छ, त्यो थाह छैन ।
सबैले निशस्त्रीकरणका कुरा निकै उठाउने गरिरहेका छन् । शान्ति र वार्ताका कुरा सबैका ओठमा झुण्डिएका छन् । सबैले उही कुरा गर्दछन्, ‘पिस टक’ । तर सबैको हतियार गोदाममा खर्बौंखर्बका बमबारूद र हतियार ‘स्टक’ छन् । हतियार नबेचेर ती देश र तिनका देशको अर्थतन्त्र उँभो लाग्ने अवस्था देखिदैन । त्यसैले लडाइँमा आफू होमिनु नपरोस्, तर हतियार बिक्रि होओस् भन्ने मनशाय आणविक अस्त्र सम्पन्न देशहरूको छ । यसले आफू चक्रवर्ती महाराज बन्ने तर उनीहरूको युद्धक विमानरूपी श्याामकर्ण घोडाले विश्व दौडाह गर्ने गराउने नीति जारी छ । जसमा उनीहरूको विजय र श्रेष्ठता प्रतिबिम्बित हुन पुगोस् ।
हाल लडाइँ यही श्यामकर्ण घोडामा केन्द्रित छ भन्ने कुरा भारतको पञ्जाब प्रान्तमा खसेको पीएल–फिप्टिन मिसाइलको भग्नावशेषसम्म पहुँच दिनका लागि पश्चिमा नेटो राष्ट्रहरूको हानथापले पनि स्वतः पुष्टि गर्दछ । खसेको पीएल–फिप्टिन मिसाइलको भग्नावशेष जेटेनसीबाट प्रहार गरी राफेल खसालेको मिसाइलको हो । यसरी लडाइँ अबका दिनमा प्रविधिमा केन्द्रित हुँदै गएको छ । ड्रोन आक्रमण अहिलेको हवाइ युद्धको प्रमुख प्रवृत्ति बनिरहेको छ । आकाशबाटै मिसाइल दाग्ने युद्धक विमानको प्रयोग अबका दिनमा हवाइ युद्धको प्रमुख प्रवृत्ति बन्ने निस्चित छ ।
यसको सङ्केतका रूपमा हाल अमेरिकाले निर्माण गर्दै गरेका मसाइल दाग्ने युद्धक विमान र चीनले प्रदर्शन गरिसकेको अत्याधुनिक सिक्स्थ जेनेरेशनको राडर छल्ने युद्धक विमान साक्षी बन्दै गएका छन् । लडाइँ नलडेर तर यिनै श्यामकर्ण घोडारूपी अस्त्रहरू बेचेर आफ्नो प्रभुत्व कायम गरी चक्रवर्ती वादशाह हुन चाहिरहेका छन् अति महाशक्ति राष्ट्रहरू !