• जेष्ठ २१ २०८२, मंगलवार

त्रिविको भीसी छनोटमा सुस्त, आकांक्षी दौडिए पनि दुई सातासम्म सर्च कमिटीको बैठकसमेत बसेन

जेष्ठ १९ २०८२, आईतवार

जेठ १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति छनोट प्रक्रिया दुुई हप्ता हुन लाग्दा पनि अघि बढेको छैन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको नेतृत्वमा उपकुलपति सर्च कमिटी गठन भएको छ । तर, उक्त कमिटीले अहिलेसम्म अलिकति पनि काम गर्न सकेको छैन ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले ५ जेठमा सर्च कमिटी गठन गरेका थिए । त्यसको तीन दिनपछि ८ जेठमा सदस्यहरूले पत्र पाएका थिए । उक्त पत्र पाएपछि पनि सर्च कमिटीको बैठक भने बस्न सकेको छैन । ९ जेठमा सर्च कमिटीको छलफल गर्ने भनिएको थियो । मन्त्री तथा सर्च कमिटी संयोजक पन्तले बोलाएको त्यस दिनको बैठकमा सामान्य छलफलसमेत हुन सकेन ।

त्यसपछि मन्त्रालयका शिक्षासचिव दीपक काफ्ले विदेश भ्रमणमा गएका थिए । उनी विदेश भ्रमणमा गएका कारण सर्च कमिटीको बैठकसमेत अवरुद्ध भयो । विदेश भ्रमणबाट सचिव काफ्ले आएलगत्तै सरुवा भए । शिक्षा मन्त्रालयमा नयाँ सचिव चूडामणि पौडेल आएका छन् । उनले १६ जेठमा पदभार ग्रहण गरेका छन् । त्यसले सर्च कमिटीबारे थप छलफल गर्नसमेत पाएका छैनन् ।

२८ चैत २०८१ मा उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको थियो । राजीनामा स्वीकृत भएको केही समयसम्म सरकारले त्रिविमा निमित्त उपकुलपति पनि बनाएको थिएन । निमित्त उपकुलपति बनाएको बढीमा ३ महिनाभित्र नयाँ उपकुलपति नियुक्त गर्नुपर्ने हुन्छ ।

तर, सरकार भने निकै सुस्त गतिमा काम गरिरहेको छ । २८ चैतमा उपकुलपतिको राजीनामा स्वीकृत गरेको सरकारले ५ जेठमा मात्रै सर्च कमिटी बनाएको थियो । सरकारले बनाएको सर्च कमिटीले झण्डै दुई सातामा एउटा पनि बैठक बस्न सकेको छैन ।

सर्च कमिटीले उपकुलपति छनोट कुन विधिबाट गर्ने भन्ने कार्यविधि बनाउनुपर्नेछ । गत वर्ष खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरिएको थियो । त्यसलाई अहिलेको सरकारले निरन्तरता दिन्छ वा दिँदैन भन्ने प्रस्ट भइसकेको छैन । सर्च कमिटी सदस्य तथा राष्ट्रिय योजना आयोग सदस्य गीता अधिकारी पौडेलले उपकुलपति नियुक्ति प्रक्रियाबारे खास छलफल नभएको बताइन् ।

शिलापत्रसँग कुराकानी गर्दै अधिकारीले भनिन्, ‘कहिले शिक्षा सचिव विदेश भ्रमणमा कहिले सरुवामा परेका कारण छनोट प्रक्रिया नै अघि बढेको छैन । सर्च कमिटीको बैठक नै नबसेका कारण कसरी छान्ने भन्ने विषयमा हामी प्रवेश नै गर्न पाएका छैनौँ ।’

त्रिविको उपकुलपतिका लागि केही प्राध्यापकहरूले भने राजनीतिक दौड सुरु गरिसकेका छन् । उनीहरूको दौड सुरु भए पनि सर्च कमिटी भने निकै सुस्त देखिएको छ । त्रिविको उपकुलपति चाँडो नियुक्त गरेर गति दिने सोच सर्च कमिटीमा नभएको आरोप पनि लाग्न थालेको छ ।