• जेष्ठ २० २०८२, सोमबार

गर्भपतन चक्कीका आविष्कारक बाउल्युको निधन  

जेष्ठ १९ २०८२, आईतवार

काठमाडौं । गर्भपतन चक्कीका आविष्कारक, फ्रान्सेली वैज्ञानिक एटिएन एमिल बाउल्युको ९८ वर्षको उमेरमा निधन भएको छ।

उनले मिफेप्रिस्टोन (आरयू ४८६) भनेर चिनिने मुखबाट सेवन गरिने ट्याबलेटको विकास गरेका थिए। उनको यसै योगदानले विश्वभरका लाखौं महिलालाई सुरक्षित र पहुँचयोग्य गर्भपतनको विकल्प प्रदान गर्दै शल्यक्रियाको बाध्यतालाई न्यूनीकरणमा सहयोग गरिरहेको छ।

पेरिसस्थित आफ्नै निवासमा शुक्रबार उनको निधन भएको पुष्टि उनकी धर्मपत्नी सिमोन हरारी बाउल्युले एक विज्ञप्तिमार्फत गरेकी हुन्। विज्ञप्तिमा भनिएको छ, ‘महिलाको स्वतन्त्रताप्रतिको उनको समर्पण र सबैलाई राम्रो र लामो जीवन जिउन सक्षम बनाउने उनको चाहना थियो र उनी अनुसन्धान विज्ञानप्रति प्रतिबद्ध थिए।’

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले डा. बाउल्युलाई ‘साहसको प्रतीक र महिलालाई उनीहरूको स्वतन्त्रता हासिल गर्न सक्षम बनाउने प्रगतिशील दिमाग’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘एक फ्रान्सेलीले मात्र यस हदसम्म संसार परिवर्तन गरेका छन्।’

जीवन र योगदान
डिसेम्बर १२, १९२६ मा स्ट्रासबर्गमा एटिएन ब्लुमको नाममा जन्मिएका बाउल्युले १५ वर्षको उमेरमा नाजी कब्जाविरुद्ध फ्रान्सेली प्रतिरोधमा सामेल हुन आफ्नो नाम परिवर्तन गरेका थिए। स्नातकपछि संयुक्त राज्य अमेरिकामा गर्भनिरोधक चक्कीका पिता मानिने डा. ग्रेगरी पिन्कससँग काम गर्दै उनले यौन हर्मोनमा आफ्नो अनुसन्धान केन्द्रित गरे।

फ्रान्स फर्केपछि डा. बाउल्युले प्रोजेस्टेरोन हर्मोनको प्रभावलाई रोक्ने विधिमा काम थाले, जुन निषेचित डिम्बलाई गर्भाशयमा प्रत्यारोपण हुनबाट रोक्न महत्वपूर्ण थियो।

दश वर्षको अथक प्रयासपछि गर्भपतन चक्की विकास भए पनि गर्भपतन विरोधीहरूबाट उनले कडा आलोचना र धम्कीहरूको सामना गर्नुपर्‍यो। औषधिलाई मान्यता दिलाउन उनले वर्षौंसम्म अन्तर्राष्ट्रिय सरकारहरूसँग लबिङ गरे।

सन् १९८८ मा गर्भपतन चक्कीको बिक्रीका लागि स्वीकृति मिलेपछि युरोप र संयुक्त राज्य अमेरिकामा ठूलो बहस सिर्जना भयो, जुन आजसम्म पनि जारी छ। हाल विश्वका सय भन्दा बढी देशमा यो औषधिको प्रयोगलाई अनुमोदन गरिए पनि अमेरिका र अन्य केही देशमा यसको पहुँच अझै पनि नियन्त्रित वा प्रतिबन्धित छ।

गर्भपतन विरोधी अभियानकर्ताहरूले यसलाई ‘रासायनिक गर्भपतन’ भन्दै निष्प्रभावी र खतरनाक दाबी गरे पनि चिकित्सा अधिकारीहरूले यसलाई सुरक्षित मानेका छन्।

अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को तथ्याङ्क अनुसार, सन् २००० मा अनुमोदन भएदेखि मिफेप्रिस्टोनसँग सम्बन्धित मृत्युदर प्रति १,००,००० औषधिजन्य गर्भपतनमा करिब ०.६५ रहेको छ। जुन सामान्य एस्पिरिनको प्रयोगबाट हुने मृत्युदर (प्रति १,००,००० मा १५.३) भन्दा निकै कम हो। विश्व स्वास्थ्य संगठनले सन् २०१० मा मिफेप्रिस्टोनलाई अत्यावश्यक औषधिको सूचीमा समावेश गरेको थियो।

सन् २०२३ मा अमेरिकाको वायोमिङ राज्यले गर्भपतन चक्कीमाथि प्रतिबन्ध लगाउँदा डा. बाउल्युले त्यसलाई ‘गलत दिशा तर्फ उन्मुख कदम’ भनेका थिए। उनका पछिल्ला अनुसन्धानहरू अल्जाइमर रोगको विकास रोक्ने र गम्भीर अवसादको उपचारमा सहयोगी देखिएका थिए।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले सन् २०२३ मा डा. बाउल्युलाई देशको सर्वोच्च नागरिक सम्मान ‘ग्रान्ड क्रस अफ द लिजन डी ’अनर’ प्रदान गरेका थिए।