• जेष्ठ १८ २०८२, शनिबार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक, त्यसअघि सचेतकहरूसँग छलफल

जेष्ठ १७ २०८२, शुक्रबार

जेठ १६,काठमाडौ । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध खुलाउन प्रयास थालेका छन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

विपक्षी दलहरूले बजेट प्रस्तुत गर्नका लागि संसद खुलाए पनि अन्य कार्यसूचीमा सदनलाई प्रवेश गर्न दिएका छैनन् । बिहीबार माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बजेट प्रस्तुत गर्न आफूहरूले अवरोध नगरे पनि अन्य कार्यसूचीमा भने प्रवेश गर्न नदिने बताए ।

उता, सत्तापक्षले भने कर्मचारीमाथि अनुसन्धान हुँदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने भन्दै राजीनामा नदिने अडान लिएको छ । विपक्षीहरूले लेखक गृहमन्त्री भइरहँदा अनुसन्धान प्रभावित हुने भएकाले उनको राजीनामा आउनुपर्ने अडानमा छन् । दुई पक्ष आआफ्नो अडानमा कायमै रहँदा संसद अवरुद्ध भएको छ ।

सोहीकारण अवरुद्ध संसद खुलाउन सभामुख घिमिरे सक्रिय भएका हुन् । उनले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सदनको अवरोध हटाउन, संसदमा प्रस्तुत बजेटमाथिको छलफललगायतका एजेन्डमाथि छलफल गर्न घिमिरेले बैठक बोलाएका हुन् ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि बिहान ११ बजे मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।