काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाएकी स्वास्थ्यकर्मी शाही भक्तपुरको सूर्यविनायक नगरपालिका–२, वृहस्पतिमार्गस्थित लक्ष्मीश्वर महतोको तीन तले घरमा डेरा गरेर बस्दै आएकी थिइन् । श्रीमान् घरबाहिर रहेको समयमा मृत फेला परेकी हुन्। घटनाको कारण खुल्न बाँकी छ भने अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट हो । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।
उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ ।
पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबरजस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन्। शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।