काठमाडौं । यही जेष्ठ ७ गते भारतमा कृयाशील भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव वसवराजको भारतीय सुरक्षाफौजद्धारा गरिएको हत्याप्रति अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विरोध जनाएको छ ।
सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै भाकपा माओवादीका महासचिवसहित २७ जना कार्यकर्ताको गिरफ्तारीपछि सामूहिक हत्या गरिएको भन्दै सो घटनाको निन्दा गरेका छन् । मोदी सरकारले चलाएको यो हत्याको व्यापकरुपमा भण्डाफोर गर्नुपर्ने भन्दै अध्यक्ष केसीले विज्ञप्तिमा मारिएका नेता तथा कार्यकर्ताहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
अध्यक्ष केसीको विज्ञप्ति जस्ताको तस्तै :
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव कमरेड बसवराज लगायत २७ जना नेता, कार्यकर्ताहरुको कथित ‘अपरेसन कगार’को निहुँमा यही २१ मे २०२५ (जेठ ७, २०८२) का दिन भारतीय फासीवादी मोदी सरकारले कायरतापूर्ण र बर्बरतापूर्ण तरिकाले हत्या गरेको समाचारले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु, साहित्यकार एवं सांस्कृतिकर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र आक्रोशित भएको छ र मोदी सरकारको यो फासीवादी कदमको तीव्र निन्दा र घोर भ्रत्सर्ना गर्नुका साथै विश्वव्यापी रुपमा यसको व्यापक रुपमा भण्डाफोर गर्दछ । यस दुःखद क्षणमा हाम्रो संगठनले महान सहिद महासचिव कमरेड वसवराज लगायतका २७ जना नेता, कार्यकर्ताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र भाकपा (माओवादी) को केन्द्रीय समिति, सम्पूर्ण पार्टी सदस्यहरु, जनमुक्ति छापामार सेना, भारतीय सर्वहारावर्ग तथा आम क्रान्तिकारी भारतीय जनता र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासको प्रक्रियालाई भाकपा (माओवादी) ले निरन्तर अगाडि बढाइरहनेछ र हाम्रो संगठनको ऐक्यबद्धता जाहेर रहिरहनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : २५ मे २०२५
११ जेठ २०८२
सम्प्रेषण स्थान : वार्सा, पोल्यान्ड, मध्यपूर्वी युरोप ।
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ।