• जेष्ठ ११ २०८२, शनिबार

तिनकुने घटनामा १०८ जनालाई प्रतिवादी बनाई प्रतिवेदन तयार

जेष्ठ १० २०८२, शुक्रबार

काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धान सकिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको उक्त अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

आरोपीहरूविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान सम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले अनुसन्धान गरेर प्रतिवेदन दर्ता भएको बताए । उनी भन्छन्,‘प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले फाइल अध्ययन गरिरहेको छ ।’

आइतबार साँझसम्म प्रतिवेदन अध्ययन गरी मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराका अनुसार, तीनकुने घटनाको अनुसन्धान प्रतिवेदनमा प्रहरीले १०८ जनालाई अनुसन्धान गरेको थियो।

जसमा ९० जना पक्राउ परेका छन् । ७४ जनाविरुद्ध मुद्दा चलाउने राय दिइएको छ । हाल ५३ जना प्रहरी हिरासतमा छन् ।