काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदातलमा रिट परेको छ ।
अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा जानेहरूबाट करोडौं रकम उठाएको प्रकरणमा बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । उनले लगेको रिट सर्वोच्चले दर्ता गरिसकेको छैन ।
यसबारेमा आइतबार सर्वोच्च प्रशासनले निर्णय लिने भएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार शुक्रबार चौलागाईंको निवेदन आए पनि दर्ता गर्ने निर्णय भइसकेको छैन ।
दैनिक ५ लाखदेखि १ करोडसम्म उठाइएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयकै सदस्य जोडिएका छन् । गृहमन्त्री लेखकले गत असोज ३० गते विमानस्थल अध्यागमन कार्यालय पठाइएका सहसचिव तीर्थ भट्टराई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिइसकेका छन् ।
शुक्रबार मात्रै गृहमन्त्री लेखकलाई बर्खास्ती र कारबाही माग गर्दै युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइसकेका छन् ।