• जेष्ठ १० २०८२, शुक्रबार

नेपालमा केही भएन भन्ने निराशा त्याग्न प्रचण्डकाे आग्रह

जेष्ठ १० २०८२, शुक्रबार

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आग्रह गरेका छन् ।

माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेको पनि बताए । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग जनतालाई जोडेको बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढंगले अघि बढ्ने बताए । दलित, किसान, मजुदर, उत्पीडित वर्गलगायतका समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनको भनाइ थियो ।

नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए । जनसंवाद कार्यक्रममा उठेका शिक्षा, उद्यम तथा सहकारी समस्याका विषयमा उनले जवाफ दिएका थिए ।