काठमाडौं । कलाकार दिपकराज गिरीले ८ वर्ष पछि चलचित्रमा फर्केका महानायक राजेश हमाल अभिनित चलचित्र “नरसिंह अवतार”लाई फरक तरिकाले शुभकामना दिएका छन् ।
सामाजिक संजालमा गिरि राजेश हमाललाई सम्झदै लेख्छन्, ‘चलचित्रहरूलाई धेरै पटक शुभकामना दिइएको छ, तर आजको शुभकामना केही फरक छ।
हुनत, केवल फोटो राखेर “शुभकामना” भनेर लेख्न पनि सकिन्थ्यो। तर मनले मानेन। त्यसैले केही शब्दहरू कोर्दैछु।
मैले ठूलो पर्दाको कलाकारका रूपमा अभिनय गरेको पहिलो फिल्म “चोर” थियो, जसमा म महानायक राजेश हमालज्यू सँगै पर्दामा देखिने सौभाग्य पाएको थिएँ। त्यसपछि पहिलो पटक फिल्म निर्माण गर्ने मौका पनि पाएँ – “छ एकान छ”। यसमा पनि राजेश दाइले अभिनय गरेर हाम्रो टोलीलाई ठूलो साथ र सम्मान दिनुभयो। चलचित्रले सफलता प्राप्त गर्दा दाइ स्वयं हलमा आएर बधाई दिँदै साथ दिनुभएको थियो।
त्यसपछि देश–विदेशमा थुप्रै स्टेज कार्यक्रमहरूमा सँगै सहभागी भइयो, लामो समय गफ गरेर रमाइलो गरियो – त्यो सब हिजोजस्तै लाग्छ।
तर पछिल्लो समयमा परिस्थिती अलिकति फरक भइदियो।
चार वर्षअगाडिको त्यो समय सम्झन्छु – जब कोभिडको महामारी चलिरहेको थियो। त्यो बेला मेरो एक सहकर्मीले उहाँप्रति समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयमा अभिव्यक्ति दिएका थिए। तर दुर्भाग्यवश, त्यो सन्देशलाई संजालले यस्तो ढंगले ट्विस्ट गर्यो कि मानौं हामी उहाँले पाएको सम्मान वा दर्जाप्रति नै आपत्ति जनाइरहेका छौं। यो कुरा आफैंमा अत्यन्तै उदेक लाग्दो, अपत्यारिलो र असहज थियो।
तर पछिल्ला दिनमा उहाँसँगको भेटमा मैले सधैं उही आदरभाव देखाएको छु। किनकि जीवनमा जहाँ पुगे पनि संस्कार भने कहिल्यै बिर्सनु हुँदैन भन्ने पाठ मैले राम्ररी बुझेको छु।
यत्तिकै लेख्दै गर्दा मैले आफैंले एउटा पोडकास्टमा भनेको कुरा सम्झेँ:
“जसले तिमीलाई बुझेका छन्, उनीहरूलाई बुझाउनै पर्दैन।
जसले तिमीलाई बुझ्न चाहँदैनन्, उनीहरूले टाउको फुटाए पनि बुझ्दैनन्।”
दुनियाँले जे सुकै भनून्। “कुछ तो लोग कहेंगे” भन्ने भनाइ जस्तै, आजकलको संजाल अनेक टिप्पणी, गाली, ध्रणा र द्वेष फैलाउने माध्यम बनेको छ। तर हामी कलाकारहरूबाट समाजले सधैं प्रेम, स्नेह र संस्कार नै खोजिरहेको हुन्छ। त्यसैले आज फेरि एक पटक त्यो संस्कार, त्यो प्रेमभाव, त्यो सम्मान पुनः प्रदर्शन गर्ने उचित समय आएको छ।
८ वर्षपछि रजतपटमा फर्किनु भएका आदरणीय महानायक राजेश हमाल दाइलाई “नरसिंह अवतार” चलचित्रका लागि हार्दिक शुभकामना।
मनदेखि आदर, सम्मान र माया – जुन झनै बढ्दै जाओस्।’