काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) काठमाडौं जिल्ला समितिले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै ‘अघोषित लोडसेडिङ कार्य’ बन्द गर्न माग गरेको छ । सो पार्टीका काठमाडौं सचिव दर्शनकुमार नेपालीको अगुवाईमा गएको टोलीले निर्देशक शाक्यलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । ज्ञापन पत्र बुझाउने टोलीमा सो पार्टीका काठमाडौं इन्चार्ज सागर लिम्बु लगायतका नेताहरु सहभागी थिए ।
ज्ञापनपत्रमा नेपालको ऊर्जा क्षेत्र बिचौलियाहरुको प्रभावबाट संचालित रहेको र पछिल्लो समयमा अघोषित लोडसेडिङको हुनुले पनि विद्युत प्राधिकरणमा बिचौलियाको पहुँच र प्रभावलाई पुष्टि गर्ने बताइएको छ ।
त्यस्तै ज्ञापनपत्र बुझाउन नेपाल विद्युत प्राधिकरण पुगेका जिल्ला इन्चार्ज सागर लिम्बुले केही दलाल र बिचौलियाहरुले जनतामाथि अन्धकार थोपर्ने प्रयास गरिरहेको भन्दै आफ्नो पार्टीले उनीहरुको त्यस्तो षड्यन्त्र सफल हुन नदिने ठोकुवा गरे ।
जनतामा लोडसेडिङ हटाएको छवि बनाएका कुलमान घिसिङको कार्यकाल छोटो समय बाँकी छँदै ओली–देउवा सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै विद्युत अवरुद्ध हुने क्रम बढिरहेको परिवेशमा नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ ।
यस्ता छन् सो पार्टीले हितेन्द्र शाक्यलाई बुझाएका मागहरु :
१) नेपाल विद्युत प्राधिकरणलाई निजिकरण गर्ने षड्यन्त्र बन्द गरियोस् ।
२) नेपालको ऊर्जा क्षेत्रमा बिचौलियाहरुको प्रवेशलाई सहज हुनेगरि बनाइएका नीति नियमहरू तुरून्त खारेज गरियोस् ।
३) अघोषित लोडसेडिङ गर्ने कार्य तुरून्त बन्द गरियोस् ।
४) तत्काल बक्यौता महसुल असुली गरि ऋृण लिने कार्य बन्द गरियोस्
५) प्राधिकरण मार्फत प्रोजेक्ट बेचविखन गर्ने कार्य बन्दगरि गरियोस् ।
६) प्राधिकरणमा हुने राजनीतिकरणको अन्त्य गरियोस् ।
७) विद्युतको पहुँच नपुगेका क्षेत्रहरुमा यथाशीघ्र बत्ति जडानको कार्य सञ्चालन गरियोस् ।
८) विद्धुतको महसुल बढाउने कार्य बन्दगरि सर्वसाधारण नगारिकलाई सुलभ महसुलको व्यवस्था गरियोस् ।
९) स्वदेशमै विधुतको खपत गरि महंगोमा विधुत खरिद गर्ने कार्य बन्द गरियोस् ।
क्रान्तिकारी अभिवादन सहित
दर्शनकुमार नेपाली
काठमाडौं जिल्ला सचिव, नेकपा (बहुमत)