• जेष्ठ ९ २०८२, बिहीबार

 राजा हरिसिंहको गल्तीका कारण छट्पटाएका काश्मिरीको इतिहास

जेष्ठ ८ २०८२, बुधबार

जम्मु–काश्मीरको विषयलाई लिएर पाकिस्तान र भारत बीच चलिरहेको तनाव आज निकै गम्भीर मोडमा आइपुगेको छ । काश्मीरमा हुने विविध गतिविधिहरुका कारण भारत र पाकिस्तानका बीचमा बेला बेला ठूलठूला लडाइँहरु भइसकेका छन् । पर्यटकीय, धार्मिक र रणनीतिक हिसावले जम्मूकाश्मीर निकै महत्वपूर्ण स्थानमा रहेको छ । सन् १९४८ मा सिंगो काश्मीर क्षेत्र विभाजन भएर पाकिस्तान, भारत र चीनमा गाभिएपछि काश्मीर सधै अस्थीर रहँदै आएको छ । काश्मीरका राजाले गरेको के गल्तीका कारण आज काश्मीर विभाजन र आतंकवादको शिकार बन्दै आएको छ ?

भारतको नियन्त्रणमा रहेको काश्मीर उपत्यकाको इतिहास हजारौं वर्ष पुरानो छ । काश्मीर हिन्दू, बौद्ध र पछि इस्लाम धर्मको प्रभाव परेको क्षेत्र हो । १४औं शताब्दीमा मुस्लिम सुल्तानहरूले काश्मीरमा शासन गर्न थालेका थिए । काश्मीर पछि मुगल साम्राज्य, त्यसपछि अफगानीहरू र १८औं शताब्दीमा सिख शासक (रञ्जीत सिंह) को शासनमा गयो ।

जम्मूकाश्मीरमा डोगरा शाही शासनले सन् १८४६–१९४७ सम्म शासन गरेका थिए । सन् १८४६ मा अमृतसर सन्धिमार्फत् ब्रिटिशहरूले जम्मु–काश्मीर क्षेत्र गुलाबसिंह डोगरालाई सुम्पेका थिए । यसपछि जम्मु–काश्मीरमा एक राज्यको रूपमा डोगरा राजाहरूले शासन गरे । जहाँ राजा राजा हिन्दू थिए भने जनसंख्या धेरैजसो मुस्लिम थियो ।

भारत–पाकिस्तान विभाजन र काश्मीर विवादका मुख्य घटनाहरू :
सन् १९४७ मा भारत विभाजन हुँदा जम्मु–काश्मीर स्वतन्त्र राज्यका रुपमा रहन सक्थ्यो । राजा हरिसिंह न त भारत, न पाकिस्तानमा नै गाभिन चाहन्थे । तर पाकिस्तानबाट पठाइएका कबाइली लडाकुहरूले आक्रमण गरेपछि राजा हरिसिंहले भारतसँग सहयोग मागे र भारतमा गाभिने दस्तावेजमा हस्ताक्षर गरे ।

यसैबीचमा भारतले काश्मीरमा सेना पठायो र पाकिस्तानसँग सन् १९४७–४८ मा युद्ध भयो । संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि युद्ध रोकियो तर जम्मु–काश्मीर दुई भागमा बाँडियो । त्यसपछि यो भूमि सधै विवादित रह्यो । एउटा भारतीय जम्मु–काश्मीर बन्यो भने अर्को पाकिस्तान नियन्त्रित काश्मीर । फेरि काश्मीरकै विषयलाई लिएर सन् १९६५ र सन् १९९९ मा पनि भारत र पाकिस्तान बीचमा युद्धहरू भएका छन् । सन् १९९० पछि त जम्मूकाश्मीरको स्वतन्त्रताको लागि विभिन्न शसस्त्र समूहहरुको नै जन्म भएको देखिन्छ ।

भारतले ती शसस्त्र समूहहरु पाकिस्तानले तयार पारेको आरोप लगाएको छ । तर यो आरोपलाई पाकिस्तानले भने ठाडै अस्वीकार गर्दै आएको छ । ती समूहहरुले चलाउने हिंसा र स्वतन्त्रताको आन्दोलनले सिंगो काश्मीर क्षेत्रलाई अस्थिर बनाएको छ । भारत सरकारले अगस्ट ५, २०१९ मा जम्मु–काश्मीरलाई विशेष राज्यको दर्जा दिइँदै आएको अनुच्छेद ३७० हटायो । जम्मु–काश्मीरलाई जम्मू–काश्मीर र लदाख गरी दुईवटा केन्द्रीय शासित प्रदेशहरूमा विभाजन गरेपछि पाकिस्तानले त्यसको कडा विरोध जनायो ।

आजको अवस्था कस्तो छ भने भारत जम्मु–काश्मीरलाई आफ्‌नो हिस्सा मान्छ । तर पाकिस्तान भने अझै पनि काश्मीरमा जनमत संग्रहको माग गर्दै आइरहेको छ । काश्मीरीहरु भारत प्रशासित भएरै रहन चाहन्छन् की स्वतन्त्रता चाहन्छन् वा पाकिस्तानमा मिसिन चाहन्छन् भन्ने फैसला काश्मिरी जनताले नै जनमत मार्फत् व्यक्त गरुन् भन्ने चाहना पाकिस्तानको छ तर भारत भने त्यसो नहोस् भन्ने चाहन्छ ।

संयुक्त राष्ट्र संघले समेत जम्मुकाश्मिरमा जनमत संग्रहको प्रस्ताव गर्दा भारतले अस्वीकार गर्दै आएको छ । बरु भारतले काश्मीरको सुरक्षाको लागि भन्दै धेरै मात्रामा सुरक्षाफौज तैनाथ गरेको छ । यसरी जम्मु–काश्मीरको समस्या धार्मिक, राजनीतिक, ऐतिहासिक र रणनीतिक गरी सबै किसिमको छ । यसको समाधान कूटनीति, आपसी विश्वास, विकास र जनताको आवाज सुनेर मात्र सम्भव छ ।

अनुच्छेद ३७० भनेको के हो ?
यो भारतीय संविधानको एक विशेष प्रावधान हो, जसले जम्मु–काश्मीर राज्यलाई विशेष स्वायत्तता दिएको थियो ।
यस अन्तर्गत जम्मु–काश्मीरले आफ्नो संविधान आफै बनाउन सक्थ्यो । भारतको संसदले लागू गर्ने कानुनहरू जम्मु–काश्मीरमा राज्यको सहमतिबिना लागू गर्न मिल्दैनथ्यो ।

त्यतिबेलासम्म जम्मु–काश्मीरका नागरिकहरूले मात्र त्यहाँको जग्गा किनबेच गर्न सक्थे । तर ५ अगस्ट २०१९ मा नरेन्द्र मोदी सरकारले सो अनुच्छेद ३७० को प्रावधान हटायो र काश्मिरी जनताको स्वायत्तता समाप्त पार्यो । अर्थात् जम्मु–काश्मीरलाई दिइएको विशेष राज्यको दर्जा समाप्त गरियो । विशेष राज्यको दर्जा समाप्त पारिएसँगै भारतले जम्मु–काश्मीरलाई जम्मूकाश्मीर र लद्दाख गरी २ प्रदेशमा विभाजन गर्यो ।

यस बारे छिमेकी पाकिस्तानले भने भारतको यो निर्णयलाई अन्तर्राष्ट्रिय कानुनविरुद्धको कदम भनेको छ तर भारतले भने यसलाई आन्तरिक मामिला भन्दै प्रतिवाद गर्दै आएको छ । सन् १९४७ को युद्धपछि जम्मु–काश्मीरको केही भाग पाकिस्तानले कब्जा गर्‍यो, जसलाई पाकिस्तानले आजाद कश्मीर भन्छ र भारतले पाकिस्तान नियन्त्रित काश्मीर भन्छ ।
यस्तै गरी उत्तरमा रहेको क्षेत्र गिलगिट–बाल्टिस्तान पनि पाकिस्तानद्वारा शासित छ । भारतले सम्पूर्ण जम्मु–काश्मीरलाई आफ्नो अभिन्न अंग मान्दछ भने पाकिस्तान यो क्षेत्रलाई स्वतन्त्रता चाहने काश्मीरीहरूको भूभाग ठान्छ र भारतले जबरजस्ती कब्जाको आरोप लगाउँछ ।

काश्मीरमा आतंकवाद कसरी सुरु भयो ?
सन् १९८९ पछि स्थानीय काश्मीरी युवाहरूले भारतबाट अलग भई पाकिस्तानसँग गाभिनुपर्ने माग गर्दै आन्दोलन थाले । यसमा पाकिस्तानबाट आएका आतंकवादी समूहहरू पनि मिसिए । जस्तैः लश्कर–ए–तोइबा, जैश–ए–मोहम्मद ।
ती समूहहरुले भारतीय सेनामाथि, स्थानीय काश्मिरी नेतामाथि र नागरिकहरुमाथि हमलाहरू गर्न थाले ।

काश्मिरमा राजनीतिक असन्तोष, धार्मिक कट्टरपन्थ र छिमेकी देशको समर्थनमा हिंसात्मक गतिविधि भएको बताउने गरिन्छ । भारतले भने सेना र सुरक्षा बलमार्फत् आतंकवादको सामना गरिरहेको बताउँदै आएको छ ।
आंकवादमाथिको कारवाही भन्दै भारतले पाकिस्तानका बालाकोट लगायतका स्थानहरुमा हवाई हमला गरेको छ तर त्यसबाट भारतलाई खासै उपलब्धि हासिल भएको छैन ।

यता भारतीय पक्षले काश्मीर भारतको अंग भएकोले आतंकवाद नियन्त्रण गर्नु जरुरी भन्दै आएको छ भने पाकिस्तानी पक्षले भारतले कब्जा गरेको काश्मिरमा जनमतसंग्रहको माग गरिरहेको छ । त्यसैगरी केही काश्मीरी जनता भने केही भारतसँगै रहनु पर्ने पक्षमा छन्, केही भने स्वतन्त्र काश्मीर चाहन्छन् र केही भने पाकिस्तानतिर गाभिन चाहन्छन् । तर जम्मूकाश्मीर जस्ता विवादित ठाउँहरु भारत र पाकिस्तानको चेपुवामा परेर अस्तित्व नै समाप्त हुने अवस्थामा आइपुग्दा यसको फैसला त्यहीँका जनताले नै गर्न पाउनु एकमात्र विकल्प हुनसक्छ ।