काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा वीपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ ।
नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले कालोमोसो दलेको हो । अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् ।
कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई पक्राउ गरेको छ ।
क्रान्तिकारीका कार्यकर्ताहरूले फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको आरोप लगाएका छन् ।
त्यस्तै परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घुस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेको समेत आरोप लगाएका छन् ।
त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको आरोप क्रान्तिकारीले लगाएको छ।