३ जेठ, गाजा । इजरायली सेनाले गाजामाथि नियन्त्रण प्राप्त गर्ने उद्देश्यले नयाँ आक्रमण सुरु गरेको छ । इजरायलले व्यापक आक्रमणहरू गर्नुका साथै सेना पनि तैनाथ गरिएको जानकारी दिएको हो ।
यता, गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार बिहानदेखि सुरु भएको पछिल्लो इजरायली आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका छन् । हमासका अनुसार शुक्रबार मात्र १०० भन्दा बढी मानिस मारिएका छन् ।
इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूलाई क्षेत्र छोड्न आग्रह गर्दै पर्चाहरू खसालेको छ । इजरायलले हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाउने तयारी गरिरहेको आशंकाबिच यो कदम चालिएको हो ।
पछिल्ला केही दिनमा इजरायली सेनाले आक्रमण तीव्र बनाएको छ । ‘आतंकवादी लुक्ने ठाउँहरु’ लाई लक्षित गरेको इजरायलको दाबी छ । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टुएर्कले भने गाजामा इजरायलको बढ्दो आक्रमणको कडा निन्दा गरेका छन् ।