• जेष्ठ १ २०८२, बुधबार

बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन: वर्षमान पुन

बैशाख ३० २०८२, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले बिचौलियाको चलखेलका कारण राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले गभर्नरको विषयलाई राजनीतिकरण गरिएको समेत बताउदै समयमै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलले देश सञ्चालन गर्छन् वा अरु कसैले भन्ने प्रष्ट हुँदै गएको बताए ।

पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रीक नीतिमा विज्ञता हासिल गरेकालाई गभर्नर बनाउने गरिँदै आएको स्मरण गराए ।

तर अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप उनले लगाए । स्वार्थ समूहसँग कुरा नमिल्दासम्म गभर्नर नियुक्त हुने नदेखिएको उनले बताए ।

पुनले पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाए देशको अर्थतन्त्र चल्न नसक्ने जिकिर गरे । विज्ञता हासिल भएका व्यक्तिलाई गभर्नर बनाउन उनले सरकारलाई सचेत गराएका छन् ।