न्यूयोर्क । अमेरिकी गायिका मेगन रुथलाई गोली हानेको आरोपमा १० वर्षको जेल सजाय भोगिरहेका ग्रामी–नामांकित क्यानेडियन र्यापर टोरी लेनेजमाथि हालै आक्रमण भएको छ । जेलमा उनीसँगै बसेका एक व्यक्तिले उनलाई १४ पटक चक्कु प्रहार गरेका हुन् । आक्रमणका कारण गायकको अवस्था गम्भीर छ ।
हालै, उनको टोलीले एक विज्ञप्ति जारी गर्दै घातक आक्रमणका कारण उनको दुवै फोक्सोमा क्षति पुगेको जानकारी दिएको छ । विज्ञप्तिमा टोरीलाई ढाड, टाउकोको पछाडि र अनुहारमा छुरा प्रहार गरिएको उल्लेख छ । उनको दुवै फोक्सोमा क्षति पुगेको र उनलाई भेन्टिलेटरमा राखिएको छ । हाल उनी आफै सास फेर्न सक्षम छन् । पीडा भए पनि उनी सामान्य रूपमा बोलिरहेका छन् ।
टीएमजीको रिपोर्ट अनुसार टोरी लेनेजमाथि सोमबार बिहान ७ बजेतिर क्यालिफोर्निया करेक्सनल इन्स्टिच्युटमा थुनामा रहेका एक व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणको खबर पाउने बित्तिकै, तुरुन्तै ९११ मा सहयोगको लागि बोलाइयो र उनलाई उपचारको लागि अस्पताल लगियो ।
क्यानेडियन र्यापर लेनेजले सन् २०२० मा अमेरिकी गायिका तथा लेखिका मेगन रुथ उर्फ मेगन थी स्टालियनलाई गोली हानेका थिए । सन् २०२० मा, गायिका मेगनले न्यूयोर्क टाइम्ससँगको एक अन्तर्वार्तामा टोरीले एक पार्टीपछि आफ्नो खुट्टामा दुई गोली हानेको आरोप लगाएकी थिइन् । यदि उनले यस विषयमा गुनासो नगरेमा गायकले उनलाई पैसा दिने प्रस्ताव गरेको पनि बताएकी थिइन् ।
यस मुद्दामा र्यापर टोरीलाई अप्रिल २०२२ मा पक्राउ गरिएको थियो । अगस्ट २०२३ मा उनलाई दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाइएको थियो ।