• बैशाख २९ २०८२, सोमबार

चीनका सामू गले ट्रम्प : चीनको दबाबमा १५५ प्रतिशत कर घटाउन बाध्य

बैशाख २९ २०८२, सोमबार

काठमाडौं । मेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाउने निर्णय गरेका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म चलेको अमेरिका–चीन व्यापार वार्ताबाट दुवै देशले एक अर्कालाई लगाएको भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति भएको हो ।

सोमबार वार्तापछि संयुक्त वक्तव्य जारी गरिएको छ । वक्तव्य अनुसार हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको छ ।

अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ ।

२ दिनसम्म बसेको बैठकपछि वार्तामा सहभागी प्रतिनिधिहरूले आइतबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उल्लेख्य उपलब्धि भएको बताएका थिए । उनीहरूले त्यसले विश्वका लागि खुशीको खबर दिने बताएका थिए । जेनेभा बैठकले व्यापार संवाद संयन्त्र गठन गर्ने निर्णय पनि गरेको थियो । ९० दिनसम्म अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार दर कायम हुने र यसबीचमा संयन्त्रले थप छलफल गर्ने बताइएको छ ।

ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च ‘रेसिप्रोकल’ (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए ।

उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए । मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए । अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए ।

ट्रम्पले ७० वटाभन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका थिए । ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोकेका हुन् । त्यतिन्जेलका लागि उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका छन् ।