सिद्धार्थ गौतम बौद्ध दर्शनका प्रणेता हुन् । बौद्ध धर्मावलम्बिहरुले बुद्धलाई बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझदछन् । गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो । उनी कुनै शान्ति दुत मात्र थिएनन् । उनले सतमार्गको मार्गदर्शन दिएका छन् ।
पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको बीचमा रहेको मानिएको छ । तथापि सिद्धार्थ बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन वर्तमान नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष राजसी सुखसयलमा बिताए । तर पनि उनी सधै संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे ।
गौतम बुद्धको इतिहास अनुसार उनी त्रिकल्पसम्म हजारौँ पूर्वजन्महरूमा बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संवेदनशिल थिए । केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे । कठिन ध्यान र खोजको माध्ययमबाट दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी राजकुमार सिद्धार्थ गौतमले आजको भारतको विभिन्न ठाउँमा छ वर्षसम्म महान तपस्या गरे ।
अन्ततः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे । भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको वृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध बने । त्यसपछि बाँकी ४५ वर्षसम्म उनी भारत र नेपालका विभिन्न ठाउँ घुम्दै दुःखको निवारण सम्बन्धि आफूलाई प्राप्त महाज्ञानको धर्मचक्रको प्रचार गरे ।
जन्म र नामकरण :
बुद्धको जन्म भएको शीला, लुम्बिनी :
रानी मायादेवी कुमार सिद्धार्थलाई जन्म दिंदै सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए । यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ, रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् ।
त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्य कुलको रिति अनुसार पाँचौँ दिनमा त्रिवेदले पारंगत १०८ ब्राह्मणहरूलाई निमन्त्रणा गरी भोजना गराइ ती उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राम्हणहरूबाट नामाकरण गराएका थिए । सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राम्हणहरूले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे । यहि शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाई पुकारियो ।
बाल्यकाल र विवाह :
राजषी सुखसयलमा हुर्किएको हुनाले उनको बाल्यकाल सुखद नै रह्यो भन्न सकिन्छ । जन्मँदा बित्तिकै आमा गुमाउनु परेपनि आफ्नी सौतेनी आमाको भरणपोषणमा हुर्किएका गौतम बुद्ध १६ उमेर पुगेपछि उनको विवाह यशोधरा नामकी राजकुमारी सँग भयो । यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो ।
बैराग्यता र गृहत्याग :
बाल्यकाल देखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो । दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो । मानिस के कारणले रोगी हुन्छ ? के कारणले बुढो हुन्छ ? र के कारणले मर्छ ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यिनै प्रश्नको समाधान खोज्न बाबुको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा सिद्धार्थ एकदिन राति सुटुक्क दरवार छोडेर निस्किए ।
तपस्या र बुद्धत्व प्राप्ति :
संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारताबाट मुक्ति पाउन चाहे । उनमा संसारप्रति कुनै मोह बाँकी रहेन । उनमा यो संसारप्रति बैराग्य उत्पन्न भयो । बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरे । तपस्या गर्दा उनले बुद्धत्व प्राप्त गरे । उनी संसारिक दुःखको जडसम्म पुगे र बुझे की संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुःखको जड भनेको मान्छे आफै हो ।
बौद्ध धर्म उत्थानको कारण के हो ?
भारतका सम्राट अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफूले बौद्ध धर्म ग्रहण गरेपछि उनले आफ्ना सबै छोराछोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षु सङ्घलाई राजकीय सम्मान प्रदान गर्ने कार्य गरे । यसबाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरूलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए ।
वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरूको योगदान रहेको छ । वैदिककालमा विषेश गरी दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ–ब्राह्मणवाद र स्रमणवाद । ब्राह्मणहरू वेदमा विश्वास गर्थे भने स्रमणहरू अवैदिक थिए । स्रमणहरू आस्तिक र नास्तिक दुवै थिए । स्रमणहरू ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरू गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे । ब्राहमणले गर्ने होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधिपूर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो ।
पुरोहितहरू समाजमा उच्च वर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो । ब्राह्मणहरू विस्तारै सम्पत्ति र विलासी जीवनको मोहमा फस्दै गए । धर्मको डर र त्रास देखाएर मानिसहरुबाट अनुचित दान माग्थे । तर मानिस भने सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतहरुको अराजकताबाट छुट्कारा चाहन्थे । जनचाहनाको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए ।
समाजमा हिंसाविरोधी मत बलियो देखिन थाल्यो । होम आदिको सार्थकतामाथि प्रश्न उठाउन थालियो । होम आदिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो । यसरी विस्तारै मानिसहरू कर्मकाण्ड भन्दा विभिन्न दार्शनिक प्रश्नमा विचार विमर्ष गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो ।
बुद्धले आफ्नो शिक्षालाई धम्म–विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाइएका नियमहरूको सङ्ग्रह भन्ने बुझिन्छ भन्ने धम्म भन्नाले दुःख मुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा सङ्ग्रहित गरिएको छ । जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्रहरु सङ्ग्रहित छ्न् ।
बुद्धले दुःख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिंदैनथे । उनी भन्दथे, ‘भिक्षुहरू म दुई कुरा मात्र सिकाउँछु, दुःख र दुःखमुक्तिको उपाय ।’ बुद्धको प्रयोगत्मक शिक्षालाई ३ किसिमले वर्गीकरण गर्ने चलन छ । शील, समाधि र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न गराउन सकेमा नै दुःख मुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो । शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्य सत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ ।
चार आर्य सत्यहरू यस प्रकार छन् :
दुःख सत्य :
दुःख छ भन्ने कुरा र यसको अवस्थाको बोध ।
दुःखको कारण सत्य :
दुःखको कारण आसक्ति र अन्ततः अविद्या हो भन्ने बोध ।
दुःखको निवारण सत्य :
दुःखको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार ।
दुःखको निवारणको मार्ग सत्य :
दुःखको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना । आर्य अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वगीकरण गर्ने गरिन्छ ।
धार्मिक सिद्धान्त :
बुद्धको केन्द्रीय दार्शनिक सिद्धान्त प्रतित्य–समुत्पाद हो । बुद्धले सम्पूर्ण आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मका बारेमा प्रकाश पार्नु भयो । जसलाई बुद्धको आधारभूत सिद्धान्त रूपमा चिनिन्छ ।
चार आर्य सत्य :
महापरिनिर्वाण (मृत्यु) :
संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्धको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को वैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात् जन्मदिनमा नै भएको थियो । उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए ।
बुद्धको ख्याती :
नेपालको लुम्बिनीमा आजभन्दा करिब छब्बिस सय वर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याती वर्तमान विश्वभर फैलिएको छ । आज भोलि धेरै देशका मानिसहरू एक आदर्श र तत्वज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरूले आफ्नो धर्मका पर्वतकका रूपमा गौतम बुद्धलाई निकै श्रद्धाका साथ सम्मान गर्दछन् । गौतम बुद्धको जन्मदिनको अवसरमा नेपाल तथा संसारका बौद्धमार्गीहरुले उनको जन्मदिन विशेषरुपले मनाउने गर्दछन् ।