• बैशाख २९ २०८२, सोमबार

पाकिस्तानले जित्यो मोबाइल एसियन सोडाउनको उपाधि

बैशाख २८ २०८२, आईतवार

काठमाडौं । मोबाइल एसियन सोडाउन २०२५ को उपाधि पाकिस्तानले जितेको छ । इस्पोट्र्स एसोशियसन नेपाल (इएसएएन)को आयोजनामा भएको तीन दिने प्रतियोगितामा पाकिस्तानले जित हात पारेको हो ।

१४ देश सम्मिलित यस प्रतियोगितामा पाकिस्तानले इन्डोनेसियालाई पराजित गरेको हो । कुल १५ खेलमा ४ पटक चिकन डिनर जित्दै १७३ अंकको साथ पाकिस्तान विजयी भएको हो ।

दोस्रो भएको इन्डोनेसियाले १५ खेलमा ३ पटक चिकन डिनरसहित १६९ अंक जोडेको हो । घरेलु टिम नेपालको भने ३ टोलीले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपाल निलो टिम प्रतियोगितामा तेस्रो भएको छ ।

नेपाल नीलोले ४ वटा चिकन डिनरसहित १५४ अंक प्राप्त गर्दै तेस्रो भएको हो । नेपाल रातोले ११८ अंक जोड्दै चौथो भयो। मलेसियाले ११२ अंकसहित पाँचौँ भयो । जोर्डनले ९० अंक जोड्दै छैटौँ भयो ।

यस प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानका फाल्काले जिते । उनले ५० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा उपाधि जितेको पाकिस्तानी टिमले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । दोस्रो भएको इन्डोनेसियाले २ लाख, तेस्रो भएको नेपाल निलोले १ लाख ५० हजार, चौथो भएको नेपाल रातोले १ लाख, पाँचौँ भएको मलेसियाले ५० हजार र छैटौँ भएको जोर्डनले ५० हजार पुरस्कार प्राप्त गरे ।