• बैशाख २७ २०८२, शनिबार

अपरेशन ‘बुनयान उल मरसूस’मार्फत् भारतको मिसाइल भण्डार ध्वस्त पारेको पाकिस्तानको दाबी

बैशाख २७ २०८२, शनिबार

काठमाडौं । पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै त्यसविरुद्ध ‘अपरेशन सिन्दुर’ सुरु गर्‍यो । उक्त आतंकवादी हमलाकाका कारण सिन्दूर पुछिएको भन्दै त्यसको जवाफमा भारतले अपरेशन सिन्दूर चलाएको थियो ।

अपरेशन सिन्दूरका क्रममा भारतले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण गरेको थियो । जसमा पाकिस्तानले ठूलो क्षति व्यहोरेको भारतीय दावी छ । उता पाकिस्तानले भने भारतका ५ वटा फाइटर जेट खसालेको दावी गरेको छ ।

उता पाकिस्तानले भारतले सुरु गरेको अपरेशन सिन्दूरको जवाफमा ‘बुनयान उल मरसूस’ सुरु गरेको छ । पाकिस्तान सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले यो अपरेशन घोषणा गरेको हो ।

यो अपरेशन अन्तर्गत पाकिस्तानले भारतका उधमपुर शहरमा रहेको एयरबेस र पठानकोटमा रहेको एयरफिल्डलाई निशाना बनाएको र ती दुवै ध्वस्त भएको पाकिस्तानी सैन्य स्रोतको हवाला दिँदै अलजजिराले लेखेको छ ।

त्यस्तै पाकिस्तानले पञ्जाब प्रान्तमा रहेको ब्रम्होस मिसाइलको भण्डारणस्थलमा पनि आक्रमण गरेको जनाइएको छ ।
अलजजिराका अनुसार यो इस्लामको पवित्र ग्रन्थ कुरानको एउटा आयतको अंश हो । जसमा आफ्नो मागर्मा लडाईं गर्ने मानिसहरूलाई अल्लाहले प्रेम गर्ने अर्थ बोक्ने बताइएको छ । यसले अल्लाहले देखाएको मार्गमा पङ्कितबद्ध भएर दृढतापूर्वक लड्ने अर्थ बोकेको समाचारमा उल्लेख छ ।

बुनियान मरसुस एउटा अरबी वाक्यांश भएको र यसको प्रत्यक्ष अनुवाद भने एक सिसाले बनेको संरचना हुन्छ, जो निकै मजबुत रूपमा रक्षा गर्न सक्षम छ भन्ने अर्थ बोक्छ ।