• बैशाख २७ २०८२, शनिबार

मोदी सरकारले लगायो भारतीय मिडिया ‘द वाएर’ माथि प्रतिबन्ध

बैशाख २६ २०८२, शुक्रबार

काठमाडौँ । भारत सरकारले पाकिस्तानसँगको युद्ध चलाइरहेका बेला त्यहाँको स्वतन्त्र प्रेसमाथि समेत बन्देज लगाएको छ । सामाजिक सञ्जालमा कडाइ गरिरहेको भारतले स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको भारतकै प्रभावशाली मानिने अनलाइन मिडिया द वायरमाथि अवरोध सिर्जना गरेको हो ।

अंग्रेजी र हिन्दी भाषाको उक्त डिजिटल पत्रिकामाथि भारतले सरकारले भारतभर अवरोध गरेको द वायरले विज्ञप्तिमार्फत जनाएको छ । उसले सरकारको यो कदमलाई संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपरीत भनेको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले यो अवरोधका बारेमा अनेकथरी कुरा गरिरहेको भन्दै सञ्चार मन्त्रालयको हवाला दिएर आफ्नो प्रसारणमा अवरोध जनाएको उल्लेख छ । द वायरले सरकारको उक्त कदमविरुद्ध सबै कानूनी प्रक्रिया अपनाइने भन्दै सबैको सहयोगको याचना गरेको छ ।

भारतका भेट्रान पत्रकारहरू सिद्धार्थ बर्धराजन, सिद्धार्थ भाटिया, एमके बेणु, सीमा चिश्तिलगायतको पहलमा स्वतन्त्र पत्रकारिता गर्न भनेर यो मिडिया हाउस स्थापना भएको थियो । भारतमा पछिल्लो समय स्वतन्त्र प्रेस मर्दै गएको र गोदी मिडियाको बोलवाला भएको आरोप छ । द वायरलाई वाम विचारको नजिक मान्ने गरिन्छ ।