काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थामा सैन्य तालिम लिएका नेपाली सेनामा पूर्वछात्रको भेला आयोजना गरिएको छ । बिहीबार आयोजित भेलामा पूर्वप्रधानसेनापति गौरवशमशेर राणा प्रमुख अतिथि थिए । पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि थिए ।
नेपाल भ्रमणमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालय (एनडीयू), पाकिस्तानको प्रतिनिधिमण्डल पनि भेलामा सहभागी थियो । भेलामा पाकिस्तानी दूतावासका सैनिक सहचारी कर्णेल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानी सैनिक बीचको सम्बन्ध र प्रशिक्षणबारे प्रकाश पारेका थिए ।
उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलले निरन्तर सघाउने बताए । पूर्वप्रधानसेनापति राणाले पाकिस्तानी संस्थामार्फत् नेपाली सेनाको क्षमता अभिवृद्धिजस्ता कार्यक्रमले समग्र संस्था र संलग्न व्यक्ति दुवैका लागि ठूलो महत्त्व राख्ने बताए ।
नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाशमीले आपसी हित र विश्वासका आधारमा नेपाल र पाकिस्तानबीच मजबुत सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको विद्यमान सैन्य सम्बन्ध निरन्तर बढ्दै जाने र नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।