• बैशाख २६ २०८२, शुक्रबार

लाहोर सहरमा पाकिस्तानले भारतीय ड्रोन खसाल्यो, युद्ध झन चर्किने संकेत

बैशाख २५ २०८२, बिहीबार

काठमाडौं । पाकिस्तानी अधिकारीले बिहीबार बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताए अनुसार लाहोरको वाल्टन विमानस्थल नजिकै एउटा ड्रोन झारिएको छ ।
उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ । यसैबीच, भारतले कश्मीरको सिमाना (नियन्त्रण रेखा) नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।

गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि दुवै देशबीच तनाव बढेको हो । त्यो हमलामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले आरोप अस्वीकार गरेको छ ।

स्थानीय मिडियाले पञ्जाब प्रदेशका अर्को सहरमा दुई अरू ड्रोन पनि खसालिएको जनाएको छ । दुई सुरक्षा अधिकारीका अनुसार पाकिस्तानको वायु सुरक्षा प्रणालीले एउटा सानो भारतीय ड्रोन झारेको हो । ड्रोनमा हतियार भए/नभएको स्पष्ट छैन ।
उक्त ड्रोन खसालेको घटनाको एक दिनअघि भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा महिला र बालबालिकासहित ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । ड्रोन खसालेको घटनाको स्वतन्त्र रूपमा पुष्टि नभएको र भारतीय अधिकारीले तुरुन्त प्रतिक्रिया नदिएको एपीले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले रातभरिको आक्रमण र हत्याको बदला लिने प्रतिज्ञा गरे पनि उनले कुनै विवरण दिएका छैनन् । यसले यी दुई परमाणु हरियारयुक्त छिमेकी देशबीच ठूलो युद्धको जोखिम बढाएको छ ।

भारत–नियन्त्रित कश्मीरको नियन्त्रण रेखा (एलओसी)नजिक बसोबास गर्ने हजारौँ मानिसले आश्रयस्थलमा रात बिताएका थिए । भारतीय अधिकारीले एलओसी नजिकै बसोबास गर्ने दर्जनौँ गाउँबाट नागरिकलाई रातभर खाली गराएका थिए । उरी र पुंछजस्ता सीमावर्ती क्षेत्रका केही बासिन्दाले आफ्नै इच्छाले घर खाली गरेका थिए ।

भारतीय विदेश मन्त्रालयका अनुसार सिमानामा अघिल्लो दिनको गोलाबारीमा १३ भारतीय नागरिकको मृत्यु भएको थियो । ५९ जना घाइते भएका थिए । बुधबारको गोलाबारीमा एक भारतीय सैनिक पनि मारिएका भारतीय सेनाले जनाएको छ ।
यसैबीच इरानी विदेशमन्त्री अब्बास आराघची बुधबार राति भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । पहिले नै तय भएको यात्राका क्रममा उनी भारत आएका हुन् ।

उनले बिहीबार दिउँसो भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम छ । यी दुवै नेताले आर्थिक सहयोगको एक संयुक्त कार्यक्रमको सहअध्यक्षता गर्नेछन् । इरानले भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको छ । आराघची सोमबार यसै प्रयास अन्तर्गत पाकिस्तानका शीर्ष नेतासँग भेट्न पुगेका थिए ।