• जेष्ठ २७ २०८२, सोमबार

प्रतिनिधिसभामा तीन सांसदले उठाए भारत–पाकिस्तान तनावको विषय

बैशाख २५ २०८२, बिहीबार

२५ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा तीन सांसदले भारत–पाकिस्तानबिच भइरहेको गोलाबारीको विषय उठाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरू रामहरि खतिवडा, मिना तामाङ र मुक्ताकुमारी यादवले भारत–पाकिस्तान तनावको प्रभाव नेपालमा पर्न सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवादविरुद्धको लडाइमा नेपालले साथ दिनुपर्ने बताए । उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’

सांसद मुक्ताकुमारी यादवले दुई देशबिच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराइन् । त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न पनि उनले सरकारसँग आग्रह गरिन् । ‘भारत–पाकिस्तानबिच अहिले गोलाबारी चलिरहेको छ । त्यहाँ नेपालीहरू विभिन्न काममा गएर बसिरहेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा ल्याउनेबारे सरकारले हिल गरोस,’ सांसद यादवले भनिन् ।

त्यस्तैसांसद मिना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सरकारसँग माग गरिन् । सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेकाले प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उनले माग गरिन् ।

उनले भारत र पाकिस्तानबिच द्वन्द्व हुँदा त्यहाँ रहेका नेपालीको अवस्था के हुन्छ ? त्यसबारे सचेत रहन सरकारको ध्यानाकर्षण गराइन् ।