• बैशाख २५ २०८२, बिहीबार

७ उद्योगहरु निजीकरण गर्ने सरकारी निर्णयको नेकपा (बहुमत)द्वारा विरोध

बैशाख २४ २०८२, बुधबार

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (बहुमत)ले नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ७ वटा उद्योगहरु निजीकरण गर्ने निर्णय गरेको समाचार नेपाली संचारमाध्यमहरुमा आए लगत्तै सरकारको यो निर्णयको विरोध जनाएको छ ।

सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आज एक विज्ञप्ति जारी गर्दै यस्तो विरोध जनाएका हुन् । २ दिन अघि बसेको मन्त्रिपरिषद बैठकले ती उद्योगहरु निजी क्षेत्रलाई संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको समाचार आएको थियो । ठेक्कामा दिने उद्योगहरुमा जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदउपुर सिमेन्ट उद्योग, हेटौंडा समेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ट म्याग्नेसाइट रहेका छन् ।

विज्ञप्तिमा महासचिव कञ्चनले नेपालका उद्योगहरु दशकौंदेखि बन्द राख्नु र बन्द भएका उद्योगहरु पुँजीपतिहरुलाई बिक्री गर्नु नेपाल सरकारको दलाल पुँजीवादी चरित्र भएको दाबी लगाएका छन् ।

विज्ञप्तिमार्फत् कञ्चनले राष्ट्रिय उद्योगको लागि छुट्टयाइएको जमिनको संरक्षण र सुरक्षाका लागि संघर्ष गर्न सम्पूर्ण नेपाली जनतालाई अनुरोध गरेका छन् ।

देशमा ठूला र मझौला सरकारी उद्योगहरु संचालनको साथै हरेक पालिकाहरुमा न्यूनतम एक–एक सरकारी उद्योगहरु संचालनका लागि सरकारलाई दबाब दिनुपर्ने महासचिव कञ्चनको भनाई रहेको छ ।

जनतालाई रोजगारी दिने, देशभित्र रहेका कच्चा पर्दाथको औद्योगिक उपयोग गर्ने र उपभोग्यका वस्तुहरु उत्पादन गर्ने कार्य अघि बढाउनका लागि सरकारलाई दबाब दिनु पर्नेमा महासचिव कञ्चनले जोड दिएका छन् ।