पोखरा । पोखराका ४ नम्बर वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव सुरु भएको छ । मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन् ।
सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि पराजुली सम्पर्कविहीन भएका छन् । फुटपाथमा सामान राखेको भनेर उनी व्यवसायीमाथि जाइलागेका हुन् । व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् ।
व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उजुरी प्राप्त भएको पुष्टि गरे ।
मङ्गलवार नै उनले पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि पनि हातपात गरेका महानगरले जनाएको छ । महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
उक्त घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही नगरे काम बन्द गरेर सङ्घर्षमा उत्रिने चेतावनी कर्मचारीहरूको छ ।