• जेष्ठ २७ २०८२, सोमबार

ट्रम्पको धार्मिक रुप : पोपको रुपमा आफ्नो तस्विर आएको बारे बोले ट्रम्प

बैशाख २३ २०८२, मंगलवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा सामाजिक सञ्जालमा सेयर गरेको एआई फोटोबारे प्रतिक्रिया दिएका छन् । ट्रम्पले त्यो तस्विर कहाँबाट आएको हो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

हालै ट्रम्पको सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसल र ह्वाइट हाउसको एक्स अकाउन्टमा एउटा तस्विर सेयर गरिएको थियो । तस्बिरमा ट्रम्पले पोपको सेतो लुगा र टोपी लगाएका थिए, उनको घाँटीमा ठूलो क्रस र एउटा औंला उठाएर गम्भीर इशारा गरेको थियो ।

क्याथोलिक समूहले यसप्रति कडा आपत्ति जनाएको थियो । न्यूयोर्क राज्यको क्याथोलिक सम्मेलनले ट्रम्पले उनीहरूको विश्वासको खिल्ली उडाइरहेको आरोप लगाएको थियो ।

रोयटर्सको रिपोर्टका अनुसार मे ५ मा एक पत्रकारले ट्रम्पलाई पोपको तस्विरमा प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले त्यो तस्विर आफूले नबनाएको बताएका थिए ।

ट्रम्पले भने, ‘मेरो यससँग कुनै सरोकार छैन । कसैले पोपजस्तै लुगा लगाएको मेरो तस्बिर खिचेर इन्टरनेटमा राख्यो । मैले त्यस्तो गरेको होइन । यो तस्विर कहाँबाट आएको हो मलाई थाहा छैन । तस्विर एआईले बनाएको हुनसक्छ, तर मलाई यसबारे केही थाहा छैन ।’