• बैशाख २० २०८२, शनिबार

सरकारले ल्याएको नीति तथा कार्यक्रम निराश बनाउने खालको भएको पूर्व अर्थमन्त्री पुनकाे टिप्पणी

बैशाख १९ २०८२, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यहीन र निराश बनाउने खालको भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यहीन आउने आशंका देखिएको बताए ।

उपमहासचिव पुनले गठबन्धन सरकारले संविधान संशोधन गर्ने कुरा गरे पनि हालसम्म त्यो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट प्रस्तुत नगरिएको बताउँदै आर्थिक सुधारमा सरकारले गर्न खोजेको के भन्दै प्रश्नसमेत गरे ।

उनले विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनका लागि संकल्प गरेको स्मरण गर्दै तिनीहरू अहिले रोकिएको बताए ।

“राष्ट्र प्रमुखले गर्ने सम्बोधन प्रधानमन्त्री र सरकारको कार्यक्रम भएको हुनाले त्यसमा साह्रै अमूर्त, गन्तव्यहीन र निराश खालको भयो । यसले आगामी बजेट पनि यस्तै गन्तव्यहीन आउँछ भन्ने आशंका देखाएको छ । खास गरी संविधान संशोधनको कुरा थियो, एक वर्षदेखि केही काम हुन सकेको छैन, गठबन्धनबाट । अरू क्षेत्रमा पनि स्पष्ट केही आएन, के गर्न खोजेको हो आर्थिक सुधारमा ? विकास, निर्माण र पूर्वाधारमा स्पष्ट दिनुपर्नेमा त्यो पनि आएन,” उनले भने ।