• बैशाख १८ २०८२, बिहीबार

व्यापार युद्धबारे छलफल गर्न अमेरिकाले चीनसँग गर्याे प्रस्ताव !

बैशाख १८ २०८२, बिहीबार

वैशाख १८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसँगको कर युद्धबारे छलफल गर्न प्रस्ताव गरेको खुलेको छ । चिनियाँ सरकार नियन्त्रित प्रसारक संस्था (सीसीटीभी)ले अमेरिकाले धेरै च्यानलमार्फत चीनसँग वार्ताका लागि सम्पर्क गरेको दाबी गरेको छ ।

सीसीटीभीले वेइबोमा अमेरिका चीनसँग आयात करको विषयमा छलफल गर्न इच्छुक रहेको बताएको द टेलिग्राफले जनाएको छ । यसअघि, राष्ट्रपति ट्रम्पले करका सम्बन्धमा बेइजिङसँग कुराकानी गरिरहेको दाबी गर्दै आएका छन् ।

पछिल्लोपटक अमेरिकाले चीनमाथि १४५ प्रतिशत आयात कर लगाएको छ । चीनले पनि अमेरिकी वस्तुमा १२५ प्रतिशत आयात कर लगाएर जवाफ दिएको छ । बुधबार पनि ट्रम्पले आफ्नो प्रशासनले चीनसँग सम्झौता गर्ने धेरै राम्रो सम्भावना रहेको बताएका थिए ।

तर, चीनले गत साता ट्रम्पले दाबी गरेजस्तो कुनै छलफल नभएको बताएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार भनेका थिए, ‘मेरो जानकारीमा आएअनुसार, चीन र अमेरिकाबीच आयात करसम्बन्धी कुनै पनि विषयमा कुराकानी भएको छैन ।’