काठमाडौँ । नेपाल जडीबुटीको उर्वर भूमिको रूपमा चिनिन्छ । प्राकृतिक स्रोत सम्पदाले धनी मुलुकमा जडीबुटीको पहिचान गरेर अन्तर्राष्ट्रिय बजारमा ब्राण्ड्रिङमा भने नेपाले ध्यान दिन सकिरहेको छैन । तर, पनि नेपालमा पाइने जडीबुटीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउँदै आइरहेको छ ।
नेपालको विकास आधार भनेको जल सम्पदा, जडीबुटीको विकास, कृषि तथा पर्यटन नै हुन् । यिनै चारै आधार स्तम्भबाट नेपालको समृद्धि सम्भव रहेको छ । यी चार स्तम्भ मध्ये सबैभन्दा बढी महत्त्वपूर्ण जडीबुटी सम्पदा हो । जडीबुटी मध्ये पनि हिमालमा पाइने यार्सागुम्बाले विश्वमा नै पहिचान बनाएको पाइन्छ । औषधीजन्य गुणयुक्त यार्सागुम्बा एक बहुमूल्य जडीबुटी हो । यार्सागुम्बा आपूर्तिको अवस्था हेर्दा चीनपछि नेपाल दोस्रो ठुलो राष्ट्र हो । यार्सागुम्बाको प्रमुख बजार चीन भए पनि यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ ।
नेपाल राष्ट्र बैङ्कले निकालेको एक प्रतिवेदनलाई आधार मान्दा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन हिमाली जडीबुटी यार्सागुम्बाले ठुलो भूमिका खेलेको छ । सो प्रतिवेदन अनुसार नेपालको ११ जिल्लाबाट वार्षिक रूपमा ४ अर्ब ९२ करोड रुपैयाँको यार्सागुम्बा सङ्कलन हुने गरेको छ । विशेष गरी हिमाली जिल्लाहरू दार्चुला,डोल्पा, जुम्ला, बझाङ र मनाङबाट धेरै यार्सागुम्बा सङ्कलन हुने गरेको छ । यो जडीबुटीको माग विश्व बजारमा अत्यधिक रहेको तथ्याङ्कले देखाउँछ । अध्ययन नतिजाले के देखाउँछ भने यार्सागुम्बाले उच्च हिमाली भेगका गरिबी र पिछडिएका जनताको आयआर्जन अभिवृद्धि र रोजगारीको सिर्जना गरेको छ ।
प्रत्येक वर्ष वैशाखदेखि असारसम्म विभिन्न उमेरका हजारौँको सङ्ख्यामा मानिसहरू यार्सागुम्बा सङ्कलन गर्न उच्च पहाडी भेगमा जाने प्रवृत्ति बढिरहेको पाइन्छ । परिणामस्वरूप, यार्सागुम्बाको सङ्कलन तथा बिक्री वितरणका लागि अधिक सम्भावना रहेका हिमाली क्षेत्रका बासिन्दाको सामाजिक–आर्थिक क्रियाकलाप सँगै राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउन सहयोग पुगेको छ । यार्सागुम्बाले त्यस भेगका वासिन्दाहरूको आम्दानी लगायत पर्यटन, होटल, बैंक तथा वित्तीय संस्थाको विस्तार गरी मौद्रिक करणमा समेत योगदान पुग्ने देखिन्छ ।
यार्सागुम्बा औषधिजन्य गुण अन्तर्निहित हुने हुँदा यसको प्रयोग शक्तिबद्र्धक, रक्त अल्पता, छाती तथा फोक्सोको सङ्क्रमण, क्षयरोग,हेपाटाइटिस बी., मिर्गौला, कलेजोसम्बन्धी रोगका औषधि बनाउन प्रयोग हुने गर्दछ ।
समुद्र सतहबाट करिब ३५०० मिटरदेखि ५५०० मिटरसम्मको उचाइमा यसको उत्पादन हुने गरेको छ । यार्सागुम्बा मात्रै होइन हामीले जटामसी, पाँचौँले जस्ता बहुमूल्य वनस्पति पनि हामीले कच्चा पदार्थकै रूपमा बेचिरहेका छौँ । यस्ता स्रोतको वैज्ञानिक अध्ययन, अनुसन्धान, खेती प्रविधि विकास, व्यावसायिकीकरण र बजारीकरणको सम्भावनालाई उचित ढङ्गले उपयोग गर्न नसक्दा नेपाल र नेपालीलाई स्वावलम्बन बनाएर राख्ने सकिएको छैन । नेपालमा हाल सात सय प्रजातिका जडीबुटीको पहिचान भएको छ । पहिचान हुन नसकेका अन्य धेरै प्रजातिका जडीबुटी कति छन् त्यसको लेखाजोखा छैन ।
हिमाली र पहाडी भेगका धेरै जस्तो जडिबुटी पाइने गरेको छ । औषधि विभागका अनुसार औषधिको रूपमा प्रयोग हुने जडीबुटी सबभन्दा बढी कर्णाली क्षेत्रमा उत्पादन हुने गरेको पाइन्छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप पनि कम हुने भएकाले धेरै मात्रामा जडीबुटीको उत्पादन हुने गरेको देखिन्छ । यसरी कर्णाली प्रदेशमा धेरै जडीबुटीको सम्भावना छ तर बजारको अभावले उत्पादनमा कमी देखिएको छ ।
तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्या, केमोमाई, सिन्ट्रोनेला, कुरिलो, सर्पगन्धा हुन भने पहाडी भागमा चिराइतो, रिट्ठा, टिम्मुर, तेज पात, दालचिनी, सुगन्ध पात आदिको व्यावसायिक रूपमा खेती भएको छ । यस्तै अन्य क्षेत्रमा जटामसी, कुड्की, अलिस, पद्य चाल आदि रहेका छन् ।
कहाँ–कहाँ जान्छ नेपालको जडीबुटी ?
नेपालमा वार्षिक ८० हजार टनभन्दा बढी जडीबुटी हुने गर्छ । त्यसको ९० प्रतिशत निर्यात हुने गर्छ । यसमा पनि नेपाल उत्पादन हुने जडीबुटीमध्ये छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने देखिन्छ । जडीबुटीको मुख्य बजार भनेको ६० प्रतिशत उत्पादन चीनमा निर्यात हुँदै आएको छ । जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायत देशमा जाने गरेको छ ।
नेपालको जडीबुटीलाई अझै हामीले ब्रान्ड बनाउन सकिने आयुर्वेदिक औषधीका जानकार शोभाकार थापा बताउँछन् । ‘हिमाली भेगमा पाइने कतिपय जडीबुटी त अझै हामीले पहिचान गर्न सकेका छैनौ,’ थापाले भने, ‘यदि राज्यले जडीबुटी पहिचान गर्न मद्दत गर्ने र उत्पादित जडीबुटी नेपालमा प्रशोधन गरेर यहाँ प्रयोग हुन नसक्ने जडीबुटी विदेश निर्यात गर्न सकिन्छ ।’ तर, यसका लागि सरकारले चासो दिनु जरुरी रहेको थापाको भनाई छ ।
गरिब तथा निम्न आय भएका जनतालाई जडीबुटी व्यवसायमा आश्रित गराई उनीहरूमा लाभ पुर्याउन सकिने उनको भनाई छ । नेपाल एक प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएकाले धेरै प्रकारका जडीबुटी पाइन्छन् । जडीबुटीको माध्यमबाट नै वैदेशिक मुद्रा आर्जन गरी आर्थिक रूपले मुलुकलाई बलियो बनाउन सकिन्छ । हिमाली भेगमा बस्ने पिछडिएका र गरिब वर्गको उत्थानका लागि पनि जडीबुटीको पहिचान गरेर निर्यात गर्न सकिन्छ तर, त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने उनको बुझाइ छ ।
विदेशमा जडीबुटीको माग उच्च, सरकारको छैन कार्य योजना
नेपालको हिमाली क्षेत्रमा पाइने वनस्पतिमा औषधीय गुण अत्यधिक रूपमा पाइने जडीबुटी र सो बाट बनेको सुगन्धित तेल अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो छ । तर, नेपाल सरकारले नेपालमा उत्पादित जडीबुटी र तेल बजारीकरण गर्न सकेको पाइँदैन । नेपालको वैदेशिक व्यापार घाटा बर्सेनि बढिरहेको छ तर नेपालले व्यापार घाटा घटाउनका लागि जडीबुटी निकासीलाई प्राथमिकतामा राख्न सकेको छैन ।
अहिले पनि बहुमूल्य हिमाली जडीबुटी क्वारेनटाइन जाँच्ने भन्दै सीमा नाकामा रोकिएका छन् । नाममा निक्कै समयदेखि विभिन्न नाकाहरूमा थुप्रिएका छन् । वन मन्त्रालयले त्यसको सङ्कलन, ओसार, पसार र निकासीमा रोक लगाउँदा अन्तर्राष्ट्रिय बजारमा जान सकिरहेको छैन ।
पहिचानको अभावमा खेर गइरहेछ जडीबुटी
बहुमूल्य जडीबुटीको पहिचान तथा उपयोगसम्बन्धी ज्ञानको अभावमा जङ्गलमै खेर गइरहेको छ । सरकारले स्पष्ट योजना ल्याएर जडीबुटीको पहिचान गर्ने र त्यसको प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा निकासी गर्न सकिरहेको छैन ।
कति बहुमूल्य वनस्पतिको बिउ नै मासिसकेको छ भने कति वनस्पति त जैविक चोरीको मारमा पर्ने जोखिम पनि बढिरहेको छ । जडीबुटी बहुमूल्य छन् तर प्रशोधन तथा मूल्य अभिवृद्धि गर्न नसकेर कच्चा रूपमा नै बजारमा प्रवेश गराउँदा बहुमूल्य निधिको अवमूल्यन भइरहेको छ । जे जति पनि जडीबुटी सङ्कलित हुन्छ त्योमध्ये ७० प्रतिशत जङ्गलबाट सङ्कलन हुने गरेको आँकडा विभिन्न अध्ययन स्रोतबाट प्राप्त भएको छ भने जडीबुटी बजारका लागि मुख्यतः छिमेकी मुलुक भारतमा नै निर्भर रहनु परेको छ ।
वनस्पति विभाग र अन्य सरोकारवाला निकाय जस्तै वन तथा भूसंरक्षण विभाग, डिभिजन वन कार्यालय, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद विभाग, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र अन्य आयुर्वेदिक तथा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग सबल समन्वय हुनु पर्दछ ।