काठमाडौं । एकीकृत दलित मुक्ति मोर्चाले ०७७ जेष्ठ १० गते रुकुम पश्चिममा नवराज विकसहितको सामूहिक हत्या भएको घटना बारे उच्च अदालत सुर्खेतले गरेको फैसलाको विरोध गरेको छ ।
सो संगठनका संयोजक कृष्ण सेवाले आज एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । उनको विज्ञप्तिमा प्रेम सम्बन्धमा रहेका जाजरकोटका नवराज विक र रुकुमकी शुष्मा मल्लबीच विहे हुने भएपछि जन्त आएका नवराज सहितका ६ जनाको सामूहिक हत्या भएको घटनामा सो घटना जातीय विभेद र छुवाछुतका कारण नभएको भनि फैसला आएको भन्दै विरोध गरिएको जनाइएको छ ।
विज्ञप्तिमा संयोजक सेवाले भनेका छन्,‘उक्त घटना जातीय विभेद, छुवाछुत, तथा भेदभावजन्य मानसिकताको अमानवीय उपज हो । यस्तो घाम जस्तै छर्लङ्ग भएको हत्या जस्तो गम्भीर प्रकृतिको घटनाको जातीय तथा धार्मिक निच सोचले ग्रस्त उच्च अदालत सुर्खेतका ब्राह्मणवादी तथा उच्च जातिवादी दुर्गन्धित सोच बोक्ने न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीले उक्त घटना जातीय विभेदका कारण नभएको भन्ने फैसला गरेको नवराज विक लगायत अन्य साथीहरु माथि मात्र नभई सिङ्गो दलित समुदाय माथिको अन्याय हो ।’
उनले विज्ञप्तिमा सो अमानवीय फैसलाको घोर विरोध गर्दै तत्काल जाति तथा धर्मवादी दमनकारी न्यायाधीशहरुलाई कारबाहीको माग गर्दै नवराज विक लगायत सामूहिक हत्या भएका अन्य ब्यक्तिहरुको उचित न्याय र क्षतिपूर्तिको ब्यवस्था गर्न माग गरेका छन् ।
साथै विज्ञप्तिमा उनले दलित समुदाय माथि यस्ता विभेद, भेदभाव तथा छुवाछुत जस्ता अमानवीय व्यवहार लादिन्छ भने उचित समयमा उचित जवाफ दिने चेतावनी पनि दिएका छन् ।
दलित केटा नवराज विकसित प्रेममा रहेकी शुष्मा मल्लले विहे गर्ने भनि बोलाएका जन्तीहरुमाथि केटी पक्षका मानिसहरुद्धारा सामूहिकरुपमा कुटपिट गरी ६ जनाको हत्या गरिएको सो घटनामा जातीय विभेदका कारण सो घटना नभएको भनि फैसला आएपछि यसको सर्वत्र विरोध भएको छ ।