डोटी । डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका– २ मेलखोला स्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना हुँदा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई उपचारका लागि धनगढीस्थित माया मेटो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते हुनेमा बैतडी डिलासैनी गाउँपालिका– ४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम छन् ।
घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।