बेइजिङ । चीनको राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको एक रेस्टुरेन्टमा भएको आगलागीमा आज मंगलबार २२ जनाको मृत्यु भएको छ । लियाओयाङ सहरमा भएको उक्त आगलागी घटनामा तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।
‘अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी) मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो’, सिसिटिभीले भन्यो, ‘दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।’
राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएको सिसिटिभीले जनाएको छ ।
उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन् ।