• बैशाख १६ २०८२, मंगलवार

१५ अङ्कले घट्यो नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार

बैशाख १६ २०८२, मंगलवार

 

१६ वैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।

आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा रु. सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव २२ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ५७, विकास बैङ्क शून्य दशमलव ९०, होटल तथा पर्यटन शून्य दशमलव २०, लगानी शून्य दशमलव ८३ र जीवन बिमा समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ३४, लघुवित्त शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको रु.८२ करोड ४३ लाख ७३ हजार १३१ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।