• बैशाख १६ २०८२, मंगलवार

ट्रम्पको शान्ति प्रस्ताव मस्यौदा रुसले गर्याे अस्वीकार

बैशाख १६ २०८२, मंगलवार

वैशाख १६, काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । रुसी सेनाले कब्जा गरेका युक्रेनका क्षेत्रलाई रुसको भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ ।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले रसियाका माग सो प्रस्तावमा सम्बोधन नगरिएको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाउने र युक्रेनको सशस्त्र बलको आकार घटाउनेलगायत प्रस्ताव गरेको थियो ।

ट्रम्पको प्रस्तावमा प्रत्यक्ष प्रतिक्रिया दिने लाभ्रोभ रुसको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । यो भनाइले रुसले शान्तिवार्ताका निम्ति कडा रूप अपनाएको संकेत दिएको बताइएको छ ।

रुसी प्रमुख कूटनीतिज्ञले रुसी सेनाले क्रिमियालगायत आंशिक रूपमा मात्र कब्जा गरेका डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रलाई रुसको भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने बताए ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा दोस्रो विश्वयुद्धको ८०औँ वार्षिक उत्सवको अवसरमा अर्को महिना ७२ घण्टे (मे ८ देखि ११)को अस्थायी युद्धविरामको प्रस्ताव राखेका छन् ।