काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन् ।
बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सच्चिएर जनताको बीचमा पुग्न पार्टीका नेताहरूलाई आग्रह गरे ।
‘पार्टी बिग्रियो । नेताहरू बिग्रिए । हामीले आधारभूत वर्गलाई भुल्यौँ । मैले आफूले पनि गल्ती गरेँ भन्ने महसुस भएपछि म अहिले दिनरात खटिएको छु,’ उनले भने, ‘केही गल्ती गरेँ भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लो पटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे । अहिले दिनरात दौडिरहेको छु । जनताको बीचमा गइरहेको छु । अब अरु नेताहरू पनि सच्चिनुस् । आफ्नो वर्गलाई समाउनुस् ।’
पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले शहीद–बेपत्ता परिवारका कुरा सुन्न पनि पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।
‘त्यसले आफू बिग्रिएको थाहा हुन्छ । तिनको आँशुले आफूलाई बदल्न मद्दत गर्छ । आफूलाई सच्याउन, आफ्नो वर्गतर्फ फर्किन सहयोग गर्छ ।
जनयुद्धको तयारीको समयदेखि नै बर्दियाका थारु समुदाय, मजदुर र किसानले हामीमाथि ठूलो भरोसा राख्नुभयो । जनयुद्धको अवधिभर बर्दिया आधार इलाका थियो । तर, क्रान्तिको बलियो किल्ला बनेको थारु समुदायमा पार्टी छिन्नभिन्न भयो । किनभने, माओवादी पार्टी बिग्रियो । यसका नेता बिग्रिए,’ उनले थपे, ‘अब थारु समुदाय, शहीद र बेपत्ता परिवार, मजदुर र किसानलाई केन्द्रमा राख्नुस् । गहिरो आत्म समीक्षा गर्नुस् र सच्चिनुस् योभन्दा विकल्प छैन ।’
उनले केही महिना अघिसम्म माओवादी पार्टी नुन खाएको कुखुराजस्तो बनिसकेको थियो भन्दै आफूले सुशासनको लागि संकल्प गरेर सरकारको नेतृत्व गरेपछि माओवादी नेता-कार्यकर्ता खुल्ला बहस गर्न सक्ने अवस्थामा पुगेको बताए ।