काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ ।
बिजलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीको झडपका क्रममा ५० भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आइतबार २६ औँ दिन पनि प्रदर्शन गरेको हो । महासंघले आफूहरूको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।