• बैशाख १३ २०८२, शनिबार

अमेरिकामा अवैध आप्रवासीलाई भगाएको आरोपमा न्यायाधीश दुगान पक्राउ

बैशाख १३ २०८२, शनिबार

काठमाडौं, वैशाख १३ । अमेरिकामा अवैध आप्रवासीलाई भगाएको आरोपमा न्यायाधीश पक्राउ परेका छन् । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ)ले शुक्रबार विस्कन्सिनस्थित मिल्वाउकी काउन्टी सर्किट अदालतकी न्यायाधीश हन्नाह दुगानलाई पक्राउ गरेको हो ।

उनीमाथि मेक्सिकोका अवैध आप्रवासीलाई भगाउन खोजेको आरोप छ । गत अप्रिल १८ मा मेक्सिकोका अवैध आप्रवासी भनिएका एडवार्डी फ्लोरेस रूइजलाई पक्राउ गर्न एफबिआइका अधिकारीहरू अदालत पुगेका थिए ।

तर न्यायाधीश दुगानले पक्राउका लागि एफबिआइका अधिकारीहरूसँग भएको कागजात पर्याप्त नहुने र छुट्टै वारेन्ट चाहिने भनेर फर्काइदिएकी थिइन । त्यतिबेला फ्लोरेसमाथि घरेलु हिंसा मुद्दामा सुनुवाइ भइरहेको थियो ।

एफबिआइका अधिकारीहरुले फ्लोरेसलाई अदालतबाटै पक्राउ गर्न खोजेका थिए । त्यसका लागि न्यायाधीश दुगानसँग अनुमति मागेका थिए । तर दुगानले एफबिआइ अधिकारीहरूलाई सुनुवाइ भइरहेको भनेर बाहिर जान निर्देशन दिएकी थिइन ।

अमेरिकी मिडिया सिएनएनका अनुसार न्यायाधीश दुगानमाथि एफबिआइका अधिकारीहरुलाई एउटा ढोकाबाट बाहिर पठाएर अभियुक्त भनिएका फ्लोरेसलाई अर्को ढोकाबाट भगाएको आरोप छ ।

फ्लोरेसलाई अर्को ढोकाबाट निस्किएर भाग्दै गरेको अवस्थामा एफबिआइ अधिकारीहरुले समात्न सफल भएको भनेर एफबिआइ प्रमुख काश पटेलले बताएका छन् ।‘न्यायाधीश दुगानले नियतवश नै एफबिआइ अधिकारीहरूलाई अभियुक्तलाई पक्राउ गर्न नदिएको पुष्टि भएको छ । धन्न हाम्रा अधिकारीहरूले लखेटेर भए पनि समात्न सफल भए,’ पटेलले भनेका छन् ।

पक्राउ परेका फ्लोरेस अहिले हिरासतमा रहेको उनले बताएका छन् । साथै न्यायाधीशको भूमिकाले आम नागरिकमा खतरा उत्पन्न गराउन सक्छ समेत भनेका छन् ।अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डी केही न्यायाधीशहरू कानूनभन्दा माथि भएको ठान्ने गरेको तर त्यस्तो नहुने बताएकी छन् ।

एफबिआइले पक्राउ परेकी न्यायाधीश दुगानलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको थियो । उनलाई अदालतले तत्कालका लागि रिहा गरी मे १५ मा अर्को सुनुवाइ तोकेको छ । यो घटनाले आप्रवासी नीतिलाई लिएर ट्रम्प प्रशासन कति कठोर छ भन्ने उजागर भएको भनेर सिएनएनले लेखेको छ ।