• बैशाख ११ २०८२, बिहीबार

किभमा ड्रोन र मिसाइल आक्रमण : नौको मृत्यु, ६० घाइते

बैशाख ११ २०८२, बिहीबार

वैशाख ११, काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा गएराति मिसाइल र ड्रोन आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा नौजनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । सहरका मेयर भिटाली क्लिच्कोका अनुसार ड्रोन आक्रमणका कारण आगलागी पनि भएको छ ।

ध्वस्त भएका भवनको भग्नावशेषमा मानिस फसेका हुन सक्ने उनले बताए । ६ वटा स्थानमा आगलागी भएको छ । अस्पताल लगिएका बिरामीमा ६ जना बच्चा पनि भएको उनले बताए । रुसले उत्तरपूर्वी सहर खार्किभमा पनि आक्रमण गरेको छ । सो आक्रमणमा दुईजना घाइते भएको सहरका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेनी विदेशमन्त्री एन्ड्रिइ सिबिहाले रातभरिको यो आक्रमणले रुस शान्तिको बाधक भएको पुष्टि गरेको बताए । युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहालले रुसले रातभर युक्रेनी सहरहरूलाई आतंकित बनाएको बताए । उनले भने, ‘युक्रेन पूर्ण र विनाशर्त युद्धविराममा जोड दिन्छ ।’

युक्रेनी वायुसेनाका अनुसार गएरातिको आक्रमणको प्रमुख लक्ष्य राजधानी किभ नै हो । युक्रेनी वायुसेनाले रुसले जम्मा ४८ वटा मिसाइल र ६४ वटा ड्रोन खसालेको दाबी गरेको छ ।

आक्रमणमा ११ वटा ब्यालिस्टिक मिसाइल, ५५ वटा क्रुज मिसाइल, चारवटा ग्लाइड बम र १४५ वटा ड्रोन समावेश भएको युक्रेनले बताएको छ । यसमध्ये सातवटा ब्यालिस्टिक मिसाइल, ३७ वटा क्रुज मिसाइल, चारवटा ग्लाइड बम र ६४ वटा साहेड ड्रोनलाई युक्रेनले अवरोध गरेको छ भने ६८ वटा ड्रोन विस्फोट नभई झरेका थिए ।

युक्रेनी वायुसेनाले एफ १६ र फ्रान्सेली निर्मित मिराज जेटहरूले रुसका दर्जनौँ मिसाइल र ड्रोन खसालेर आक्रमणलाई असफल पारिदिएको बताएको छ । यसैबीच दक्षिण अफ्रिका भ्रमणमा रहेका राष्ट्रपति जेलेन्स्की चाँडै युक्रेन फर्कने योजना बनाएको बीबीसीले जनाएको छ ।