वैशाख ११, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयक छिटो पारितका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आफ्नो दलका सांसदलाई निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले शिक्षक र कर्मचारीका समस्या समाधानका लागि पहल गर्ने बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
माओवादी संसदीय दलको बैठकले शिक्षकका माग सम्बोधनका लागि सरकारले चासो नदेखाए अन्य दलसँग छलफल गरेर उनीरूको समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।
उनका अनुसार, प्रचण्डले तराई–मधेस जागरण अभियानमार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेकाले अभियानका क्रममा जनताले दिएका सुझावलाई सदनमा लैजानसमेत निर्देशन दिएका छन् ।