काठमाडौं । नेकपा (बहुमत) को आयोजनामा काठमाडौंमा ‘वैज्ञानिक समाजवादको आवश्यकता र कम्युनिष्ट दायित्व’ विषयक विचार गोष्ठीमा कम्युनिष्ट धाराका आधा दर्जन नेताहरुले आ–आफ्नो विचार व्यक्त गरेका छन् । १५६औं लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको अवसर पारेर गरिएको सो विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरुले नेपालमा संसदीय गणतन्त्रको औचित्य समाप्त भइसकेको र अब स्थापना गर्नुपर्ने व्यवस्था वैज्ञानिक समाजवाद नै भएकोमा जोड दिए । लेनिनकाे नेतृत्वमा सन् १९१७ काे अक्टाेबरमा रूसमा क्रान्ति सम्पन्न भएकाे थियाे । उनकाे विचारलाई संसारका कम्युनिष्टहरूले अनुशरण गर्दछन् ।
आजकाे विचार गोष्ठीका केही वक्ताहरुले वैज्ञानिक समाजवादी व्यवस्थामा जानुपर्ने समय आएको भएपनि संसद र सडकबाट ठुलो दबाब दिएर मात्र नयाँ राजनीतिक प्रणालीमा जान सजिलो हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा बास्तोलाले गणतन्त्रले उत्पादनका साधनहरुको क्रान्तिकरण गर्नेमा निरन्तरता नदिएकोले आजको व्यवस्था पुँजीवादी नभएर विदेशीको दलाली गर्ने दलाल पुँजीवाद भएको बताए ।
बास्तोलाले कार्यपत्रमा आर्थिक सम्बन्धमा परिवर्तन नभएसम्म सत्तामा पनि परिवर्तन नहुनेमा जोड दिएका छन् । साथै उनले जनयुद्धका भरी प्रचण्ड र बाबुरामले गणतन्त्र स्थापना पछिको आर्थिक कार्यक्रम बारे पहिल्यै पनि बहस नचलाएको बताए । बास्तोलाको कार्यपत्रमाथि आधा दर्जनजति वक्ताहरुले टिप्पणी गरेका छन् ।
बास्तोलाको कार्यपत्रमाथि टिप्पणी गर्दै वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले नेपालका धेरै कम्युनिष्ट पार्टीहरुले समाजवादी व्यवस्थामा जाने भन्ने गरेको भएपनि उनीहरुमध्ये धेरै पार्टीहरु संसदीय व्यवस्थाका दलदलमा भासिएको आरोप लगाए । आहुतिले बास्तोलाको कार्यपत्रमाथिका धेरै विषयहरुमा असहमती जनाएका छन् । कार्यपत्रमा जमिनमाथि जनताको जन्मसिद्ध अधिकार हुनुपर्नेमा बास्तोलाले जोड दिएका भने भने त्यसमा आहुतिले स्पष्टरुपमा असहमती जनाएका छन् । आहुतिले विज्ञान र प्रविधि आजको मुख्य उत्पादक शक्ति भएको जिकिर गरेका छन् ।
समाजवादको बारेमा व्यापक बहस चलिरहेको आजको अवस्थामा वैज्ञानिक समाजवाद नै वास्तविक समाजवाद भएकोमा बास्तोलाको कार्यपत्र र आहुतिको भनाई मेल खाएको छ । तर आहुतिले वैज्ञानिक समाजवादी शक्तिहरु सानो आकारमा रहेको अवस्थामा बास्तोलाले प्रस्ताव गरेको ‘समाजवादी गणतन्त्र’ले घुमिफिरी संसदस्य गणतन्त्रमै लैजाने पो होकी भन्ने आशंका व्यक्त गरे । एक प्रसंगमा आहुतिले राजतन्त्र पुनस्थापना गर्ने कुरा अब समाज विकासलाई पछाडि धकेल्ने विषय भएको भन्दै त्यसलाई ठाडै अस्वीकार गरे ।
कार्यक्रमका अर्का वक्ता तथा नेकपा (माओवादी केन्द्र)का सचिव लिलामणि पोखरेलले कार्यपत्रमाथि धारणा राख्दै कम्युनिष्ट आन्दोलनको समिक्षा गरेर मात्र समाजवादी आन्दोलनको कार्यक्रम तय गर्नुपर्ने बताए । उनले संसदीय निर्वाचनबाट समाजवाद नआउने भन्दै तस्कर र दलालले पैसा दिएर गरिने संसदीय चुनावबाट चुनिएका सांसदहरु तस्करका प्रतिनिधि भएको दाबी गरे । मत जनताको लिने तर काम भने तस्करको गर्नुपर्ने अहिलेका सांसदको बाध्यता भएको नेता पोखरेलको भनाई रहेको छ ।
एक प्रसंगमा उनले विश्वको भूराजनीति अति जटिल मोडमा आइपुगेको भन्दै नेपाल चीन र अमेरिकाको द्वन्द्वको चपेटामा पर्नसक्ने अनुमान गरे । नेता पोखरेलले अमेरिकी एमसीसीविरुद्धको लडाइँमा आफूले हारेको भन्दै एमसीसी सदनबाट पास भएपनि त्यसमा लालमोहर नलागेकोले एमसीसीका सम्झौता लागू नहुने जिकिर गरे । उनले यस्तो अवस्थामा गणतन्त्रले स्थापना गरेका कयौं अधिकारहरु जोगाउँदै थप अधिकार पाउनका लागि सबै मिलेर लड्नु पर्ने बताए ।
विचार गोष्ठीका अर्का वक्ता तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता प्रमेश हमालले आजको व्यवस्थाको बेतिथि बारे चर्चा गर्दै शक्तिमा हुनेहरुले मृत्युमाथि पनि शोषण गरिरहेको बताए । उनले साम्राज्यवाद विरोधी शक्तिहरु र समाजवादी व्यवस्थाका पक्षधरहरु एक ठाउँमा आएर साँच्चिकैको समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा उनको जोड थियो । नेता हमालले पञ्चायतकालमा पनि जनपक्षीय उम्मेदवार उठाएर कम्युनिष्टहरुले जनताको मन जितेको इतिहास सुनाउँदै आज पनि संसदलाई उपयोग गरेर नै समाजवादी व्यवस्थामा जान सजिलो हुने उनको भनाई रहेको छ ।
अर्का वक्ता तथा समाजवादी कम्युनिष्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह ‘समरजंग’ले संसदबाट जनता लुट्ने व्यवस्था रहेसम्म समाजवाद नआउने बताए । उनले विश्व साम्राज्यवाद र नेपालका दलाल शासकविरुद्धको लडाइँ जितेमा मात्र वास्ताविक समाजवाद आउने कुरामा जोड दिए ।
अर्का वक्ता तथा नेपाल कम्युनिष्ट पार्टीका संयोजक वषन्त बोगटीले संसदीय व्यवस्था समाप्त हुन थालेको र प्रतिगामीहरुले चलखेल गर्न थालेको बेला समाजवादीहरु एक ठाउँमा आएर नयाँ कार्यक्रम बनाएर लाग्नुपर्ने अवस्था आइसकेको बताए ।
कार्यपत्रमाथि आफ्नो धारणा राख्दै कार्यक्रमका वक्ता तथा श्रमिक जनता पार्टीका अध्यक्ष दुर्गा बराइलीले जसरी हिजो राजाहरुको अधिनायकवादी शासन चल्यो त्यसैगरी अबको नेपालमा सर्वहारा श्रमिक जनताको अधिनायकत्व बिना देशको अस्तित्व नरहनेमा जोड दिए ।
उनले निजी स्वामित्वमा रहेको सम्पतिलाई जनताको स्वामित्वमा बदलेमा मात्र वास्तविक समाजवाद लागू भएको मानिने बताए । विज्ञान र प्रविधिमा आधारित भएर मात्र अबको समाजवाद लागू गर्न सकिने उनको भनाइ रहेको छ । विचार गोष्ठीको सञ्चालन नेकपा (बहुमत)का स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ गरेका थिए ।