वैशाख ९, काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार (वैशाख ९) बिहान काठमाडौं आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
गएको माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । उनी दुईदिने भ्रमणका निम्ति नेपाल आएका मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिएका छन् ।
मन्त्री खड्कासँगै खट्टरले मंगलबारै संखुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोसी करिडोर २२० केभी प्रसारणलाइनअन्तरगत इनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारणलाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सबस्टेसन, २२०-३३ केभी बानेश्वर सबस्टेसन तथा २२०-१३३-३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । आजै उनले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह र बाँध क्षेत्रको अवलोकन गर्ने प्रवक्ता देवले बताएको जनाएको छ ।
नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारणलाइनको सम्झौतापत्रमा मंगलबार नै हस्ताक्षर गरिनेछ । दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारणलाइनको सम्झौतापत्रमा दुवै मन्त्रीले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ ।
बुधबार (वैशाख १०) भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवले जानकारी दिएका छन् ।