वैशाख ६, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भएको हो ।
मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर बिहानैदेखि वर्षा भएपछि खेल हुन सकेन । वर्षा रोकिए पनि मैदान चिसो भएका कारण खेल रद्द गरिएको हो ।
खेल रद्द भएसँगै नेपालले यू–१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ । आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्न नेपाललाई अवसर थियो । पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो । आईसीसी यू–१९ विश्वकप आगामी वर्ष जिम्बावेमा हुँदै छ ।