काठमाडौं । नेकपा (माओवादी केन्द्र)को रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा काठमाडौंमा वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको दहचोकस्थित कालु पाण्डे समाधिस्थल नजिक भएको सो कार्यक्रममा रोल्पाबाट काठमाडौं आइ बसोबास गर्ने माओवादी केन्द्रका शुभचिन्तक, समर्थक तथा पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन, स्थायी समिति सदस्यहरु जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर, यसोदा सुवेदी, केन्द्रीय सदस्यहरु झक्कुप्रसाद सुवेदी, मानबहादुर बुढामगर, शुकबहादुर रोकामगर, गीता गहतराज, सम्पर्क समन्वय प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी, उपाध्यक्ष सुनिता रोकाया र दर्जनौं माओवादी कार्यकर्ताको उपस्थिति थियो ।
प्रमुख अतिथिको तर्फबाट पूर्वमन्त्री वर्षमान पुनले रोल्पा–काठमाडौं समन्वय समितिले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डर विमोचन गरे । सो अवसरमा मन्तव्य राख्दै पूर्वमन्त्री पुनले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुशासनको पक्षमा गरेको कामलाई सहन नसकेर सरकार ढालिएको बताए ।
उनले एक प्रसंगमा गणतन्त्रको महत्व बुझाउन नसकिएका कारण आज एकथरी मानिसहरु राजा फर्काउने दुस्साहस गरिरहेको बताए । उनले गणतन्त्रमा शासन गर्ने मानिस बदल्न सकिन्छ तर राजाको शासनमा उसलाई बदल्न नसकिने दाबी गरे । उनले माओवादीलाई गाली गर्नेहरु नै समावेशी कोटाबाट मन्त्री र हाकिम बनेको बताए ।
एक सन्दर्भमा पुनले गणतन्त्र आएपछि सवा लाख किलोमिटर बाटो बनेको बताए । माओवादीले गरेका कामको कुनै प्रचार नगरिनु पूर्वाग्रह भएको नेता पुनको गुनासाे रहेको छ ।
आजको ओली सरकारले बिचौलीयाको हितमा काम गरेको पुनको आरोप रहेको छ । राष्ट्र बैंकको गभर्नर पनि स्वार्थ समूहको दबाबमा बनाइँदै गरेको आरोप नेता पुनको छ । सो अवसरमा विभिन्न गीत संगीतहरु पनि प्रस्तुत गरिएका थिए ।