• बैशाख ९ २०८२, मंगलवार

प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै

बैशाख ६ २०८२, शनिबार

६ वैशाख, काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक बस्ने भएको छ । हिजो राति प्रधानमन्त्री र सभामुखसँग छलफल भएपछि महासंघको बैठक बस्न लागेको हो । आज दिउसो ३ः१५ बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्।

बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।

हिजो मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो । राती ९ बजेदेखि प्रधानमन्त्रीसँग भएको छलफल करिब २ घण्टा चलेको थियो । छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने बताएका थिए । त्यसपछि राति नै ११ः३० बजे सभामुख घिमिरेसँग भेट भएको थियो । उनीसँगको भेटको क्रममा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको थियो ।

छलफलका लागि अध्यक्ष सुवेदीसहित सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव अर्थ मदनराज जोशी सहभागी थिए । छलफलपछि महासंघले चैत २० गतेदेखि गर्दै आएको आन्दोलन यथावत् राखेको छ । आज पनि माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शन गरिने महासंघले जनाएको छ ।