काठमाडौं । शिक्षक महासंघले आज पनि आन्दोलन जारी राख्ने भएको छ ।
दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शिक्षकहरुले शुक्रबार पनि निरन्तरता दिने भएको हो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन्।
बिहीबारको सहभागिता उत्साहजनक रहेको भन्दै उनले यसले आन्दोलनका लागि थप ऊर्जा मिलेको बताए। उनले फेसबुकमा लेखेका छन्, ‘हामी विजयोन्मुख छौं। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुनु जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ।’
उनले केही दिन धैर्यता गरेमो उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। ‘अरु केही दिन धैर्य र मर्यादित भएर लागौं। हाम्रो विजय सुनिश्चित छ’, उनले भनेका छन्।
शिक्षक आन्दोलनले काठमाडौंको माइतीघर बानेश्वर सडकखण्ड दिनभर अस्तव्यस्त हुँदै आएको छ।