जनवादी गणतन्त्र चीन पूर्वीएसियाको एक विशाल देश हो । १ अर्ब ४० करोड भन्दा बढी जनसङ्ख्या भएको यो देश विश्वको दोस्रो ठुलो जनसङ्ख्या भएको देश हो । स्थलगत रूपमा चीनको सीमा चौध देशहरुसँग जोडिएको छ ।
लगभग ९.६ मिलियन वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको चीन जमिनको क्षेत्रफलको आधारमा विश्वको तेस्रो सबैभन्दा ठूलो देश हो ।
चीनलाई २३ वटा प्रदेश, ५ वटा स्वायत्त क्षेत्र, ४ वटा नगरपालिका र २ वटा अर्ध स्वायत्त विशेष प्रशासनिक क्षेत्र गरी ३३ वटा प्रदेश स्तरीय संरचनामा विभाजन गरिएको छ । बेइजिङ चीनको केन्द्रीय राजधानी हो, साङ्घाई चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर र सबैभन्दा ठूलो व्यापारीक केन्द्र हो ।
विश्व सभ्यताको उद्गमस्थलमध्ये एक रहेको चीनमा पाषाण युगदेखि नै मानिस बसोबास गर्दै आएका छन् । चीनमा दोस्रो सहस्राब्दी ईसापूर्वको उत्तरार्ध भन्दा पहिले पहेँलो नदी जलाधार क्षेत्रमा सबैभन्दा पुराना राजवंशहरू देखा परेका थिए ।
प्रशासनिक, सैन्य प्रविधि, साहित्य, दर्शन र इतिहास लेखनको उदयसँगै ईसापूर्व आठौँदेखि तेस्रो शताब्दीमा झोउ राजवंशको अधिकारमा ह्रास आयो । इसापूर्व २२१ मा पहिलो पटक सम्राटको नेतृत्वमा चीन एकीकरण भएको थियो । नियुक्त गैरवंशानुगत अधिकारीहरूले माथिल्लो वर्गका शासकहरुको स्थानमा साना साना इलाकाहरूमा शासन गर्न थाले ।
चीनमा किन वंश, हान वंश, ताङ वंश, युआन वंश, मिङ वंश र चिङ वंश सहित दुई सहस्राब्दी भन्दा बढी समय शाही राजवंशहरूको शासन चल्यो । बारुद र कागजको आविष्कार र रेसम मार्गको निर्माणसँगै भाषा, परम्परा, वास्तुकला, दर्शन र प्रविधि लगायतमा चिनियाँ संस्कृति फस्टाएको छ । यसले पूर्वीएसिया र त्यसभन्दा बाहिर पनि ठूलो प्रभाव पारेको छ ।
चीनसँग १४ वटा देशहरुले सीमामा साझेदारी गर्छन् । चीनले पूर्वीएसियाको ठूलो हिस्सा ओगटेको छ भने दक्षिणपूर्वी एसियामा भियतनाम, लाओस र म्यानमारसँग सीमा जोडिएको छ ।
दक्षिण एसियामा भारत, भुटान, नेपाल, पाकिस्तान र अफगानिस्तानमध्ये एसियामा ताजिकिस्तान, किर्गिस्तान र कजाकस्तान र रुस, मङ्गोलिया र उत्तरकोरिया भित्री एसिया र पूर्वोत्तर एसियामा यो दक्षिण पश्चिम र दक्षिणमा बङ्गलादेश र थाइल्यान्डसँग पनि चीनको सीमा जोडिएको छ । चीनका जापान, फिलिपिन्स, मलेसिया र इन्डोनेसिया जस्ता धेरै समुद्री छिमेकी देशहरू छन् ।
चीनले सीमा जोडिएका १४ देशमध्ये १२ छिमेकी देशहरुसँग आफ्नो सीमा समस्या समाधान गरेको छ । तीमध्ये अधिकांश देशसित सीमा सम्झौता गरेको छ । चीनसँग हाल भारत र भुटानसँगको सीमानामा केही विवाद छ । चीनको पूर्वी र दक्षिण चीन सागरका क्षेत्रहरू जस्तै सेनकाकु टापुहरू र दक्षिण चीन सागर टापुहरूलाई लिएर धेरै देशहरुसँग समुद्री विवाद छ ।
चीनको इतिहास :
चीनको इतिहास एक विशाल भौगोलिक क्षेत्रमा धेरै सहस्राब्दीसम्म फैलिएको छ । चिनियाँ सभ्यता पहिलो पटक पहेँलो नदी उपत्यकामा देखा परेको थियो । चीनमा जातीय र भाषिक जनसमूहहरूको विशाल विविधता रहेको छ । ती इतिहासहरुमा परम्परागत राजवंशहरूको उत्थान र पतन, र केही उपलब्धिहरू पनि उल्लेख गरिएको छ ।
चिनियाँ सभ्यताहरु हजारौँ वर्ष पुराना हुन् । विश्वमा सभ्यताको उद्गमस्थलहरूको कुरा गर्दा चिनियाँ सभ्यता पनि एक हो ।
ईसापूर्व २२१ मा किन सि हुआङले चीनलाई पहिलो पटक एक विशाल राज्यको रुपमा एकताबद्ध गरेका थिए । तौल, नाप र कानून सबै मानकहरु त्यतिबेला नै प्रचलनमा आएका थिए । त्यसको केही समयपछि चीन हान वंश (२०६ ईसापूर्व–इस्वी संवत् २२०) को उदयसँगै शास्त्रीय युगमा प्रवेश गरेको थियो ।
चिनियाँ भाषाको लागि एक शब्द अझै पनि हान भाषा हो । प्रमुख चिनियाँ जातीय समूहलाई हान चिनियाँको रूपमा चिनिन्छ । यस अवधिमा चिनियाँ साम्राज्य आफ्नो सबैभन्दा टाढाको भौगोलिक सीमामा पुगेको थियो । कन्फुसियसले देखाएको दार्शनिक बाटोलाई आधिकारिक रूपमा विशाल क्षेत्रमा स्वीकार गरिएको छ ।
चीनको भूगोल :
सुक्खा उत्तरमा गोबी र ताक्लामाकान मरुभूमिदेखि दक्षिणमा उपोष्ण कटिबन्धीय वनसम्म चीनको भूबनावट विशाल र विविधतापूर्ण छ । हिमालय, काराकोरम, पामिर र तियान सान हिमशृङ्खलाले चीनलाई दक्षिण र मध्य एसियाको अधिकांश भागबाट अलग गर्दछ । चीनमा बगिरहेका याङ सी र पहेँलो नदी विश्वको तेस्रो र छैटौँ लामा नदीहरु हुन् । यी नदीहरु तिब्बती पठारदेखि घना जनसङ्ख्या भएको पूर्वी समुद्री किनारसम्म बग्दछन् ।
प्रशान्त महासागरमा चीनको समुद्री किनार १४,५०० किलोमिटर लामो छ र यसलाई बोहाई, पूर्वी चीन र दक्षिण चीन समुद्रले घेरेको छ । चीन कजाकस्तानको सीमा हुँदै युरेसियासँग जोडिएको छ । युरेसिया भनेको युरोपको केही भाग र एसियाको केही भाग समेटेको भनेको हो ।
चीनको जलवायुमा मुख्यतया सुख्खा मौसम र ओसिलो मनसुनको प्रभाव छ । जसले जाडो र ग्रीष्म ऋतुको बीचमा स्पष्ट तापमान निम्त्याउँछ । जाडोयाममा उच्च क्षेत्रबाट बहेर आउने उत्तरी हावा चिसो र सुख्खा हुन्छ तर ग्रीष्म ऋतुमा तल्लो तटीय क्षेत्रहरूबाट आउने दक्षिणी हावा न्यानो र ओसिलाे हुन्छ ।
चीनमा कम्तीमा ५५१ प्रजातिका स्तनधारी जनावर, १,२२१ प्रजातिका चराचुरुङ्गी, ४२४ प्रजातिका सरीसृप र ३३३ प्रजातिका उभयचर पाइन्छन् । चीनले संसारका धेरै वन्यजन्तुहरु संरक्षण गरेको छ तर यहाँ कम्तीमा ८४० जीवजन्तुका प्रजातिहरू असुरक्षित छन् । मुख्यतया मानवीय गतिविधिहरू जस्तैः वासस्थान विनाश, प्रदूषण र खाद्य र परम्परागत चिनियाँ औषधिको लागि अवैध शिकार गरिने भएकोले जीवजन्तुहरु असुरक्षित रहेका छन् ।
राजनीति :
जनवादी गणतन्त्र चीन चिनियाँ कम्युनिस्ट पार्टीद्वारा शासित राज्य हो । जसले कार्ल मार्क्स र लेनिनका सिद्धान्तहरुलाई पालना गरेको ठान्छ । जनवादी गणतन्त्र चीन श्रमजीवी वर्गले नेतृत्व गरेको र मजदुर र किसानहरूको गठबन्धनमा आधारित जनताको जनवादी अधिनायकत्वद्वारा शासित राज्य हो ।
‘राज्यका विभिन्न इकाईमा विभाजित संस्थाहरूले जनवादी केन्द्रीयताको सिद्धान्तको अभ्यास गर्नेछन् र चिनियाँ विशेषतासहितको समाजवादको विशेषता चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हो’ भनी चिनियाँ संविधानले स्वीकारेको छ ।
प्रशासनिक विभाजन :
चीन संवैधानिक रूपमा २३ प्रदेश (ताइवानसहित), पाँच स्वायत्त क्षेत्रहरू (प्रत्येक एक अल्पसङ्ख्यक समूहको साथ), र चार प्रत्यक्ष–प्रशासित नगरपालिकाहरू गरी सामूहिक रूपमा मुख्यभूमि चीनको रूपमा चिनिन्छन् । साथै हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रहरू पनि विशाल चीनकै भूमि हुन् ।
चीनले ताइवानको टापुलाई आफ्नो ताइवान प्रदेश, किनमेन र मात्सुलाई फुजियान प्रदेशको एक भागको रूपमा मान्दछ । दक्षिण चीन सागरमा गणतन्त्र चीनको नियन्त्रणमा रहेको टापुहरूलाई हाइनान प्रदेश र ग्वाङदोङको एक भागको रूपमा मान्दछ, यद्यपि यी सबै क्षेत्रहरू चीन गणराज्यद्वारा शासित छन् ।
चीनको विदेशी सम्बन्ध :
जनवादी गणतन्त्र चीनको १७९ वटा संयुक्त राष्ट्र संघीय सदस्य देशहरुसँग कूटनीतिक सम्बन्ध कायम रहेको छ । चीनले १७४ देशहरूमा दूतावास राखेको छ । चीन संसारमा सबैभन्दा ठूलो कूटनीतिक सञ्जाल भएको देश हो ।
सन् १९७१ मा संयुक्त राष्ट्र संघमा चीनको प्रतिनिधिको रूपमा ताइवानलाई हटाएर जनवादी गणतन्त्र चीन (मुख्य भूमि) लाई मान्यता दिइएको थियो । (त्यसभन्दा अघि चिनियाँ क्रान्तिको समयमा चीनका शासक च्याङ काइसेक थिए । उनी भागेर ताइवान गएकोले पश्चिमा देशहरु ताइवानलाई मान्यता दिन्थे) । पछि चीनलाई संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्र बनाइएको थियो ।
ब्राजिल, रुस, भारत र दक्षिण अफ्रिकासँगै चीन उदीयमान प्रमुख अर्थतन्त्रहरूको ब्रिक्स समूहको सदस्य हो । ब्रिक्स समूह भनेको सामूहिक आर्थिक गतिविधि गर्न चीनको पहलमा बनाइएको आर्थिक र सामरिक महत्वका देशहरुको संगठन हो ।