• बैशाख १४ २०८२, आईतवार

विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सभामुखलाई नेकपा (बहुमत)को ध्यानाकर्षण

बैशाख २ २०८२, मंगलवार

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिनको पहलको माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएको छ ।

पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितका नेताहरू सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाइएका हुन् ।


Advertisement

‘शासन सत्ताको जिम्मेवारी लिएका राजनीतिकर्मी, सुरक्षा, प्रशासन तथा संवैधानिक क्षेत्रका उच्च तहकै व्यक्तिहरूको भ्रष्टाचारजन्य आचरणका कारण जनघात र राष्ट्रघात थोपरिँदै गएको छ र जनतामा निराशा र आक्रोश बढिरहेको छ’ नेकपा (बहुमत) ले बुझाएको ध्यानाकर्षणमा उल्लेख छ ।

देश र जनताप्रतिको दायित्वबोधलाई गम्भीर आत्मसात् गरी विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन सम्बन्धी उच्चस्तरीय नागरिक छानबिन समिति गठन प्रक्रियामा सभामुखतर्फबाट यथाशीघ्र पहल गर्न मागसमेत गरिएको छ ।

सभामुख देवराज घिमिरेले नेकपा (बहुमत) ले उठाएको प्रश्न र प्रस्ताव गम्भीर र यथार्थपूर्ण रहेको स्वीकार गर्दै आफू यस विषयमा सकारात्मक रहेको धारणा व्यक्त गरे ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पार्टीका स्थायी समिति सदस्यहरू उदयबहादुर चलाउने ‘दिपक’, दिपेन्द्र चलाउने ‘संगम’, पोलिटब्युरो सदस्य सागर लिम्बूलगायत नेताहरूको पनि सहभागिता थियो ।